राणाको उम्मेद्वारी किन ?

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिनुका तीन मुख्य कारण रहेको बताएका छन् ।

विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका राणाका अनुसार पहिलो कारण पार्टीका नेता–कार्यकर्ताको चाहना हो । सहमहामन्त्रीका रूपमा आफ्नो कामबाट नेता–कार्यकर्ता र सभापतिको विश्वास जित्न सफल भएको र धेरै कार्यकर्ताले यसपटक महामन्त्री बन्न आग्रह गरेकाले उम्मेदवारी दिएको उनले बताए ।

उनले आफ्नो शैक्षिक पृष्ठभूमि, पार्टीमा पाएको अनुभव र विभिन्न तहमा काम गरेको एक्सपोजरले संगठनलाई पुनर्जीवित गर्न सहयोग पुग्ने कार्यकर्ताको बुझाइ रहेको बताए ।

राणाले कांग्रेसभित्रको वैचारिक बहसलाई व्यवस्थित र व्यापक बनाउन पनि महामन्त्रीमा उम्मेदवारी दिएको बताए । अहिले पार्टीभित्र समाजवाद र सामाजिक लोकतन्त्रका विषयमा बहस भइरहेको उल्लेख गर्दै उनले महामन्त्री बनेमा यसलाई थप व्यवस्थित रूपमा अघि बढाउन भूमिका खेल्ने बताए ।

त्यस्तै, पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तालाई पनि पार्टीको मूल प्रवाहमा ल्याउने आफ्नो अर्को उद्देश्य रहेको राणाले बताए । उनका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत १५औँ महाधिवेशनको प्रक्रियामा जोड्ने प्रयास भइरहेको छ ।

राणाले विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी सहभागी भएको र १५औँ महाधिवेशनमा ९० देखि ९५ प्रतिशत नेता–कार्यकर्ता सहभागी भइसकेको दाबी गरे । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका १३० भन्दा बढी सदस्य पनि सहभागी भइसकेको उनको भनाइ छ ।

महामन्त्री पदमा प्रतिस्पर्धा गर्नुको तेस्रो कारण आफ्नो राजनीतिक महत्वाकांक्षा भएको राणाले स्पष्ट पारे । पार्टीमा काम गर्ने हरेक व्यक्तिको राजनीतिक महत्वाकांक्षा हुने भन्दै उनले यथास्थितिमा बस्नुभन्दा थप जिम्मेवारी लिन चाहेको बताए ।

आफ्नो व्यक्तिगत तथा राजनीतिक छविमा आर्थिक र सामाजिक रूपमा कुनै दाग नलागेको दाबी गर्दै राणाले त्यसले पार्टीको छवि सुधार्न पनि सहयोग पुग्ने बताए । कांग्रेसको सार्वजनिक छवि प्रभावित भएको उल्लेख गर्दै उनले आफू महामन्त्री बनेमा पार्टीको इमेज सुधारका लागि भूमिका खेल्ने दाबी गरे ।

प्रतिक्रिया