काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा उनले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको उनले आरोप लगाए । उनले लोकतन्त्र भनेको सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको उनले बताए । बहुमतले मात्र पार्टी नचल्ने उनले तर्क गरे ।
“जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो,” उनले भने, “हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ, तर त्यसलाई बेवास्ता गरियो ।”
उनले निर्वाचन आयोगमा पेस गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको जिकिर गरे । ४६ प्रतिशतको मतलाई अवमूल्यन गरेर गरिएका निर्णय अमान्य हुने उनको भनाइ थियो ।
“…हामीले अझै मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ,” उनले भने, “हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ । गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न, तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ ।”
विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमले पार्टीलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
आउँदो स्थानीय तह निर्वाचनलक्षित निधिले कार्यकर्तालाई वडा तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिए । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया