जुन कम्पनीको सिलिन्डर भए पनि दशैँमा साटिने

काठमाडौं । दसैंलगायत चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन सकिने व्यवस्था गर्न लागिएको छ ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो । यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई लक्षित गरी जुनसुकै कम्पनीको सिलिन्डर भए पनि ग्यास उपलब्ध गराउने व्यवस्था गर्न उद्योगीलाई आग्रह गरिएको बताए ।

यसअघि फरक कम्पनीको सिलिन्डर साट्दा डिलरले उपभोक्ताबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो आउने गरेकोमा अब भने त्यस्तो शुल्क नलिने निगमले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका १५ देखि २० स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइलालगायत स्थानमा काउन्टर राख्ने विषयमा छलफल भइरहेको उनले बताए ।

यी काउन्टरमा जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर ग्यास लिन सकिनेछ । संकलन भएका फरक कम्पनीका सिलिन्डर उद्योगीहरूले पछि आपसी समन्वयमा व्यवस्थापन गर्नेछन् ।

यो सुविधा व्यवसायी वा डिलरका लागि नभई वास्तविक उपभोक्तालाई मात्र उपलब्ध गराइनेछ । ग्यास लिँदा उपभोक्ताको परिचय खुल्ने कागजात र मोबाइल नम्बर राखिने व्यवस्था मिलाइने उद्योगीहरूले बताएका छन् ।

कुन–कुन स्थानबाट यस्तो सेवा उपलब्ध हुने भन्ने विषयमा उद्योगीहरू छलफलमा छन् । स्थान टुंगो लागेपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गरिने आयल निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक साहले निश्चित काउन्टरमा मात्र नभई डिलर स्तरबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न मिल्ने व्यवस्था भए उपभोक्ताका लागि अझ सहज हुने बताए ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले ग्यासको खपत घट्ने भए पनि उपत्यकामै रहने र एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई यो व्यवस्थाले राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार