काठमाडौं । पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण सफलतापूर्वक परीक्षण गरेको छ । नयाँ संस्करणलाई ‘फतह–४ ईआर’ नाम दिइएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार नयाँ मिसाइलमा उडान र लक्ष्य निर्धारणका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यद्यपि पाकिस्तानले यसको वास्तविक मारक दूरी सार्वजनिक गरेको छैन ।
रक्षा अनुसन्धानकर्ता बिलाल हुसेन खानले फतह–४ ईआरको मारक क्षमता १ हजार किलोमिटरभन्दा बढी हुन सक्ने अनुमान गरेका छन् । उनका अनुसार पाकिस्तानले यसको दूरी १ हजार २०० देखि १ हजार ५०० किलोमिटरसम्म पुर्याउने लक्ष्य राखेको हुन सक्छ । यसअघि फतह–४ को मारक दूरी करिब ७५० किलोमिटर रहेको बताइँदै आएको थियो ।
५० मिटर उचाइबाट उड्न सक्ने दाबी
फतह–४ को प्रमुख विशेषता कम उचाइमा उड्न सक्ने क्षमता रहेको बताइएको छ । पाकिस्तानी वायु सेनाका अवकाशप्राप्त एयर कमोडोर ओवैस खानका अनुसार यो मिसाइल जमिनबाट करिब ५० मिटर माथिबाट उड्न सक्छ ।
कम उचाइमा उड्दा भूभागको सतहलाई पछ्याउँदै लक्ष्यतर्फ अघि बढ्न सकिने भएकाले रडारबाट पहिचान हुन कठिन हुने दाबी गरिएको छ । फतह–४ मा प्रयोग गरिएको नेभिगेसन प्रणाली इलेक्ट्रोनिक ‘ज्यामिङ’ का बाबजुद पनि सञ्चालन गर्न सक्ने पाकिस्तानको दाबी छ ।
फतह–४ सबसोनिक क्रुज मिसाइल हो । यसको गति करिब म्याक ०.७ अर्थात् प्रतिघण्टा ८६४ किलोमिटर आसपास रहेको ओवैस खानले बताएका छन् । मिसाइलले करिब ३३० किलोसम्मको परम्परागत पेलोड बोक्न सक्ने दाबी पनि गरिएको छ ।
नयाँ संस्करणको आकार ठूलो
रक्षा अनुसन्धानकर्ता बिलाल हुसेन खानका अनुसार सार्वजनिक भिडियोमा फतह–४ ईआर अघिल्लो संस्करणभन्दा ठूलो देखिन्छ । मारक दूरी बढाउन मिसाइलको संरचना ठूलो बनाइएको र थप इन्धन राख्न सकिने उनको अनुमान छ ।
नयाँ संस्करणमा पखेटाको संरचनामा समेत परिवर्तन गरिएको देखिएको उनले बताएका छन् । यस्तो परिवर्तनले मिसाइलको उत्पादन प्रक्रिया सहज र कम खर्चिलो बनाउन सक्ने उनको भनाइ छ ।
तर फतह–४ ईआरको वास्तविक मारक दूरी र अन्य प्राविधिक क्षमताबारे पाकिस्तानले औपचारिक विवरण सार्वजनिक नगरेकाले विभिन्न दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
फतह सिरिजको विकास
पाकिस्तानले पछिल्ला वर्षमा फतह सिरिजका विभिन्न मिसाइल विकास गर्दै आएको छ । सन् २०२१ मा परीक्षण गरिएको फतह–१ को मारक क्षमता करिब १४० किलोमिटर रहेको बताइएको थियो ।
त्यसपछि सन् २०२४ मा फतह–२ पाकिस्तानी सेनामा समावेश गरिएको थियो । यसको मारक क्षमता करिब ४०० किलोमिटर रहेको दाबी गरिएको छ ।
यसै वर्ष पाकिस्तानले फतह–३ समेत सार्वजनिक गरेको थियो । त्यसबेला यसको तुलना भारतसँग रहेको ब्रह्मोस क्रुज मिसाइलसँग गरिएको थियो ।
फतह–४ भने अघिल्ला संस्करणभन्दा लामो दूरीका जमिनस्थित रणनीतिक तथा सैन्य लक्ष्यलाई निशाना बनाउन सक्ने प्रणालीका रूपमा विकास गरिएको देखिन्छ ।
भारतसँगको मिसाइल प्रतिस्पर्धामा नयाँ कदम
रक्षा विज्ञहरूका अनुसार क्रुज मिसाइलको प्रमुख विशेषता कम उचाइमा उड्दै लक्ष्यमा सटीक प्रहार गर्न सक्ने क्षमता हो । यस्ता मिसाइलबाट विमानस्थल, सैन्य कमान्ड तथा नियन्त्रण केन्द्र, हतियार भण्डारणस्थल र अन्य रणनीतिक संरचनालाई निशाना बनाउन सकिन्छ ।
फतह सिरिजमा ‘स्ट्यान्ड–अफ रेन्ज’ क्षमता रहेको बताइन्छ । यसको अर्थ प्रहार गर्ने प्लेटफर्म लक्ष्यको प्रत्यक्ष पहुँचभन्दा बाहिर रहेर पनि मिसाइल प्रक्षेपण गर्न सक्छ ।
त्यस्तै, यसमा ‘सुट एन्ड स्कुट’ क्षमतासमेत रहेको बताइएको छ । मिसाइल प्रहार गरेपछि प्रक्षेपण प्रणालीलाई तत्काल अर्को स्थानमा सार्न सकिने भएकाले प्रत्याक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने दाबी गरिएको छ ।
भारत र पाकिस्तान दुवैले पछिल्ला वर्षमा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन प्रणालीको विकास र परीक्षणलाई तीव्रता दिएका छन् । पाकिस्तानले फतह सिरिजमार्फत आफ्नो परम्परागत लामो दूरीको प्रहार क्षमता विस्तार गर्ने प्रयास गरिरहेको देखिन्छ ।
पाकिस्तानले पछिल्लो समय ‘रकेट फोर्स’ गठन गरेपछि विभिन्न मिसाइल प्रणालीको परीक्षणलाई समेत तीव्रता दिएको छ । रक्षा विज्ञहरूका अनुसार फतह–४ ईआरको परीक्षणलाई पाकिस्तानको लामो दूरीको परम्परागत प्रहार क्षमता विस्तार गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ ।
यद्यपि नयाँ मिसाइलको वास्तविक मारक दूरी, सटीकता र अन्य प्राविधिक क्षमताबारे पाकिस्तानले विस्तृत विवरण सार्वजनिक नगरेकाले अहिले सार्वजनिक भएका दाबीलाई सावधानीपूर्वक मूल्यांकन गर्नुपर्ने देखिन्छ ।





प्रतिक्रिया