काठमाडौं । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सका तीन कमान्डरबारे सूचना दिने व्यक्तिलाई १५ मिलियन अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
बीबीसी फारसीका अनुसार अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत यस्तो पुरस्कार घोषणा गरिएको हो।
पुरस्कारका लागि लक्षित तीन कमान्डरमा ब्रिगेडियर जनरल अब्दुल्ला मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजी रहेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ब्रिगेडियर जनरल मेहराबी आईआरजीसीको एयरोस्पेस फोर्सअन्तर्गतको ‘जिहाद रिसर्च एन्ड सेल्फ–सफिसिएन्सी अर्गनाइजेसन’का प्रमुख हुन्।
यस्तै, अहमद जाफराबादी आईआरजीसीको एयरोस्पेस फोर्सका वरिष्ठ कमान्डर हुन्। अमेरिकी विदेश मन्त्रालयले उनी उक्त फोर्सको सञ्चालनसम्बन्धी व्यवस्थापनका लागि जिम्मेवार रहेको जनाएको छ।
अली असगर नौरुजीलाई भने अमेरिकाले ‘रिभोलुसनरी गार्ड्स रेडिनेस एन्ड सपोर्ट’का उपनिर्देशकका रूपमा उल्लेख गरेको छ।
यसैबीच, अमेरिकाले इरानको रक्षा मन्त्रालयसँग सम्बन्धित १० व्यक्ति तथा संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ।
अमेरिकी वित्त मन्त्रालयअन्तर्गतको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (ओएफएसी)ले सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा इरानका साथै मेक्सिको, चीन र पाकिस्तानका नागरिकहरू पनि समावेश छन्।






प्रतिक्रिया