रसुवामा बाढीपछि सडक अवरुद्ध, खाद्यान्न अभाव बढ्दै

काठमाडौं । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। लामो समयदेखि सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको छ भने स्थानीय कृषक र व्यवसायीसमेत आर्थिक समस्यामा परेका छन्।

बाढी आएको एक महिना बितिसक्दा पनि सडक सञ्चालनमा आउन नसकेपछि रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेको स्थानीय बासिन्दाले बताएका छन्। सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यवसायीसमेत प्रभावित भएका छन्।

रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङका अनुसार बाढीअघि सहज रूपमा सामान ढुवानी हुने र बजार मूल्यसमेत तुलनात्मक रूपमा सस्तो थियो। अहिले सडक नहुँदा सामान ल्याउनै कठिन भएको र ढुवानी खर्च अत्यधिक बढेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “सडक नहुँदा सामान ल्याउनै सकिँदैन। ल्याउन सके पनि एकपटकको ढुवानी खर्च मात्रै ५० हजार रुपैयाँभन्दा बढी पर्छ। सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाल तत्काल जोडिदिए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने थियो।”

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठको अनुभव पनि उस्तै छ। उहाँका अनुसार यसअघि मागअनुसार सहजै सामान भित्रिने र ढुवानी खर्च कम हुने गरेकोमा बाढीपछि अवस्था निकै कठिन बनेको छ।

सडक अवरुद्ध हुँदा स्थानीय किसानसमेत ठूलो मारमा परेका छन्। भौगोलिक रूपमा विकट क्षेत्रमा किसानले वर्षभरको खर्च धान्न व्यावसायिक रूपमा उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन्। रसुवाको गतलाङमा उत्पादन भएको लाखौँ रुपैयाँ मूल्य बराबरको बन्दाकोपी तथा काउली सडक अवरुद्ध भएकै कारण बारीमै कुहिन थालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार