काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरेको छ। केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो।
महाधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन, विभिन्न समितिबीच समन्वय तथा सहजीकरण गर्न र व्यवस्थापनसम्बन्धी तत्कालीन निर्णयलाई संयोजन गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले गठन गरेको १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सभापति गगनकुमार थापा छन्। समितिमा उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित विभिन्न केन्द्रीय सदस्य छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव तोकिएका छन्।
त्यस्तै, आर्थिक व्यवस्थापन समितिको संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजक प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजक उदयशमशेर राणा तोकिएका छन्।
अतिथि स्वागत समितिको संयोजक सहमहामन्त्री डा. डिला संग्रौला पन्त तथा महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजक काठमाडौं जिल्ला सभापतिलाई बनाइएको छ। प्रदेश तथा स्थानीय तहगत समन्वय समितिको संयोजक सहमहामन्त्री बहादुरसिंह लामा छन्।
यस्तै, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजक सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजक गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजक तिलक रानाभाट र आवास व्यवस्थापन समितिको संयोजक रमेशप्रसाद धमला तोकिएका छन्।
स्वास्थ्य समितिको संयोजक डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजक विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजक सीता गुरुङलाई बनाइएको छ।
कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्यका रूपमा समेत मनोनयन गरेको छ।
कांग्रेसका अनुसार यी समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्दै महाधिवेशन व्यवस्थापनलाई समन्वित र व्यवस्थित बनाउनेछन्।



प्रतिक्रिया