समझदारीमा फर्किन इरानको अमेरिकालाई आग्रह

काठमाडौं । इरानले अमेरिकालाई आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै समझदारीको बाटोमा फर्किन आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी पक्षलाई मध्यावधि चुनावअघि नै समझदारीमा फर्किन आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा पेजेस्कियानले इरानका सर्वोच्च नेता, वैज्ञानिक तथा सैन्य कमान्डरहरूको हत्या भए पनि आफ्नो देश अमेरिका–इरान वार्तामार्फत सम्झौताको बाटोमा अघि बढ्न इच्छुक रहेको बताए।

फक्स न्युजसँग कुरा गर्दै उनले वार्तामा उठाइएका विषय अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रहेको दाबी गरे। इरानले अन्तर्राष्ट्रिय कानुनअनुसार आफूलाई प्राप्त अधिकारभन्दा बढी केही नखोजेको भन्दै अमेरिकी पक्ष सहमत भए सम्झौता गर्न तयार रहेको उनको भनाइ थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ संकेत गर्दै पेजेस्कियानले यसअघि पनि दुवै देशबीच सम्झौता भइसकेको उल्लेख गरे। उनले उक्त सम्झौतालाई आधार बनाएर वार्तालाई अघि बढाउन इरान अझै तयार रहेको बताए।

होर्मुज जलमार्गबारे पनि पेजेस्कियानले त्यसलाई इरानले बन्द नगरेको दाबी गरे। जलमार्ग खुला नै रहेको भन्दै उनले कानुनी आधार वा स्पष्ट ढाँचाबिनै पछिल्लो अवस्था सिर्जना भएको बताए।

इरानमाथि भएको सैन्य कारबाहीको आलोचना गर्दै उनले आफ्ना सर्वोच्च नेता, वैज्ञानिक, सैन्य कमान्डर तथा सरकारी अधिकारीहरूको हत्या भएको आरोपसमेत लगाए।

प्रतिक्रिया

सम्बन्धित समाचार