काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पछिल्लो साढे तीन दशकमा ‘मुलुकमा केही भएन’ भन्ने भाष्य फैलाइएको भन्दै त्यसप्रति असहमति जनाएका छन्।
देउवाले तीन दशकअघिको नेपाल र अहिलेको नेपालको वस्तुगत समीक्षा गर्न आग्रह गरेका छन्। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिकको पहुँचलगायत क्षेत्रमा उल्लेख्य परिवर्तन भएको उनको भनाइ छ।
सीमित स्रोत–साधनका बाबजुद नेपालले हासिल गरेको प्रगति स्पष्ट रहेको उल्लेख गर्दै देउवाले विकास र परिवर्तनको मूल्याङ्कनका लागि तुलनात्मक अध्ययन प्रभावकारी आधार भएको बताएका छन्।
विगत ३५ वर्षको राजनीतिक यात्रामा भएका कामको वस्तुगत समीक्षा गर्नुपर्ने बताउँदै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरूले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि त्यही समीक्षाबाट प्राप्त हुने उल्लेख गरेका छन्।
यद्यपि, अहिलेसम्म प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने देउवाको भनाइ छ। जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न तथा नेपाललाई विकसित राष्ट्रका रूपमा अघि बढाउन नयाँ सोच, ऊर्जा र प्रतिबद्धता आवश्यक रहेको उनले बताएका छन्।
उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सन नहुनेमा पनि देउवाले जोड दिएका छन्।

प्रतिक्रिया