देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र, केही दिनमै सञ्चालनमा ल्याउने तयारी

नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि प्रभावित बनेको नुवाकोटको यातायात तथा आवागमन सहज बनाउन नेपाली सेनाले देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज निर्माण कार्यलाई तीव्रता दिएको छ ।

बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटमा रहेको तादी नदीको पुल तथा सडक संरचनामा क्षति पुगेपछि उक्त क्षेत्रमा आवतजावत प्रभावित हुँदै आएको थियो । प्रभावित क्षेत्रको यातायात सेवा पुनःस्थापित गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजले अस्थायी पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो ।

सेनाकाअनुसार निर्माण भइरहेको एक्रो ब्रिज ६० मिटर लामो र ५ दशमलव ५ मिटर चौडा हुनेछ । पुलले ५० टनसम्म भारवहन गर्न सक्ने क्षमता राख्ने जनाइएको छ ।

बाढीका कारण सडक तथा पुल संरचनामा क्षति पुगेपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावतमा कठिनाइ हुँदै आएको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीसँगै मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमनसमेत सहज हुने अपेक्षा गरिएको छ ।

नेपाली सेनाले केही दिनभित्रै पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । एक्रो ब्रिज सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित बनेको यस क्षेत्रको यातायात तथा दैनिक आवागमन क्रमशः सामान्य अवस्थामा फर्किने विश्वास गरिएको छ ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/09/479774/

प्रतिक्रिया