काठमाडौं । अमेरिकी सांसदसहित ३० जना कङ्ग्रेस सदस्यले नेपालमा बाढी–पहिरो प्रभावितका लागि अमेरिकी राहत तथा उद्धार सहयोग व्यापक रूपमा बढाउन विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्।
सांसदहरूले नेपालमा अमेरिकी आपत्कालीन विपद् सहायता टोली तत्काल परिचालन गरी खोज तथा उद्धार, आपत्कालीन चिकित्सा सेवा र व्यवस्थापनमा सहयोग गर्न माग गरेका छन्। उच्च हिमाली क्षेत्रमा उद्धार सहज बनाउन ड्रोन, भू–उपग्रह तस्बिर र फोन लोकेसन डेटा प्रयोग गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
त्यस्तै, बाढी–पहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन अमेरिकी सहायता प्याकेज बनाउन सांसदहरूले जोड दिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रारम्भिक आँकडा उद्धृत गर्दै उनीहरूले पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
हाल अमेरिकाले नेपालका लागि ५ लाख डलर तथा थप ३.६ मिलियन डलर मानवीय सहायता घोषणा गरिसकेको छ। सांसदहरूले विपद्को गम्भीरतालाई ध्यानमा राख्दै अमेरिकाले अझ ठूलो र नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।




प्रतिक्रिया