सन्तोषीले जितिन् कांस्य, सोमको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर) २०२६ अन्तर्गत महिला पाँच हजार मिटर दौडमा कांस्यपदक जितेकी छन् ।

शनिबार भारतको भुवनेश्वरमा भएको प्रतिस्पर्धामा सन्तोषीले १७ मिनेट ३१.७५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । केन्याकी डिएना वान्जाले १५ मिनेट १६.११ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण तथा भारतकी भारतीले १५ मिनेट ४६.४५ सेकेन्डमा रजत जितिन् ।

सोही प्रतियोगिताको ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिभुवन आर्मी क्लबका कुमालले एक मिनेट ४९.५५ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै पुरानो कीर्तिमान सुधार गरेका हुन् ।

उनले सन् २०१८ को १८औँ एसियाली खेलकुदमा एक मिनेट ५०.२५ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

सन्तोषी र सोमबहादुर दुवै जापानको आइची–नागोयामा अर्को महिना हुने २०औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार