कक्रोच जनता पार्टीका संयोजक दीपकेविरुद्ध प्रहरीमा जाहेरी, शिक्षकलाई धम्क्याएको आरोप

काठमाडौं । भारतको महाराष्ट्रस्थित लातुर जिल्लामा सरकारी विद्यालयको अवस्था सुधारको माग गर्दै ‘स्कुल ठिक गर’ अभियान चलाइरहेका कक्रोच जनता पार्टी (सीजेपी)का संयोजक अभिजित दीपकेसहित उनका सहयोगीविरुद्ध उजुरी दर्ता भएको छ ।

जिल्ला परिषद् उर्दू विद्यालयकी शिक्षिका सैयद शमशादबानोले दिएको उजुरीका आधारमा औसा प्रहरी थानाले मुद्दा दर्ता गरेको हो। दीपकेमाथि अनुमति नलिई विद्यालय प्रवेश गरेको, शैक्षिक तथा सरकारी काममा अवरोध पुर्‍याएको र शिक्षकलाई धम्की दिएको आरोप लगाइएको छ।

दीपकेले पछिल्लो समय लातुरका विभिन्न सरकारी विद्यालयमा पुगेर त्यहाँको अवस्था निरीक्षण गर्दै समस्या सार्वजनिक गर्ने अभियान चलाउँदै आएका छन्। सोही क्रममा उनी औसास्थित जावलीको जिल्ला परिषद् उर्दू विद्यालयमा पुगेका थिए। उनले कक्षाकोठामा प्रवेश गरी विद्यार्थीहरूसँग पढाइ लगायतका विषयमा कुराकानीसमेत गरेका थिए।

शिक्षिकाको उजुरीमा दीपके र उनका सहयोगीले अनुमति नलिई विद्यालय प्रवेश गरेको तथा विद्यार्थीहरूसँग प्रश्न गरेर शैक्षिक गतिविधिमा अवरोध पुर्‍याएको उल्लेख छ। उनले विद्यालयको गतिविधिको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपसमेत लगाइएको छ।

उजुरीमा दीपकेले विद्यालयलाई बदनाम गर्न खोजेको र शिक्षकहरूलाई निलम्बन गराउने धम्की दिएको आरोप छ। साथै, अर्को विद्यालयका विद्यार्थीलाई ल्याएर कक्षामा राखिएको दाबीसमेत उनले गरेको बताइएको छ।

प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत सरकारी कर्मचारीलाई कर्तव्य निर्वाहबाट रोक्ने, अनधिकृत प्रवेश, आपराधिक धम्की र मानहानिसँग सम्बन्धित विभिन्न धारामा मुद्दा दर्ता गरेको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको र भिडियोसहित अन्य प्रमाणसमेत जाँच भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार