सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

सुर्खेत । सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एकजनाको मृत्यु भएको छ । सँगै सिकार खेल्न गएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चलेको थियो । घटनामा कालीमाटी गाउँपालिका–२, बराहडुंगा निवासी ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो । गोली उनको पेटको तल्लो भाग तथा कम्मरमा लागेको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ पर्नेमा कालीमाटी–३, बल्लेका मानबहादुर विक, जुद्रबहादुर रेउले, खुमेन्द्रबहादुर रेउले, सेइतराम थापा र कुलबहादुर बुढाथोकी तथा कालीमाटी–२, बराहडुंगाका पदमबहादुर श्रीस मगर छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, भरुवा बन्दुकबाट गोली कसरी र कसको हातबाट चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनासँग सम्बन्धित प्रमाण तथा बन्दुकबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धानपछि प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया