हटाइएका सुकुम्बासीको स्थायी व्यवस्थापन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई स्थायी व्यवस्थापन नहुँदासम्म कम्तीमा पाँच प्रकारका आधारभूत सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारसँग विभिन्न माग अघि सारे।

उनले पहिलो मागका रूपमा सुकुमवासी हटाउने सम्पूर्ण प्रक्रियाको जिम्मेवारी कसको हो भन्ने विषय स्पष्ट पार्नुपर्ने बताए। गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र स्थानीय तहबीच फरक–फरक निर्णय हुँदा अन्योल सिर्जना भएको उल्लेख गर्दै उनले होल्डिङ सेन्टरमा निर्देशन दिने भनिएका अनधिकृत व्यक्ति को हुन्, उनले कुन कानुनी अधिकारका आधारमा निर्देशन दिए र उनकै निर्देशनमा जेनजी अभियन्तामाथि प्रहरीले किन कुटपिट गर्‍यो भन्नेबारे सरकारले संसदलाई तथ्यसहित स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

आङदेम्बेले स्थायी समाधान नआउञ्जेल विस्थापित नागरिकलाई आधारभूत मानवीय सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले स्वच्छ खानेपानी, पर्याप्त खाद्यान्न, शौचालय, स्वास्थ्य सेवा र सुरक्षालाई राहत नभई राज्यको न्यूनतम दायित्व भएको बताए।

त्यस्तै, गर्भवती महिला, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीको छुट्टै अभिलेख तयार गरी उनीहरूलाई आवश्यक पोषण, नियमित औषधि, मातृ–शिशु स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शको व्यवस्था तत्काल गर्न पनि उनले सरकारसँग आग्रह गरे।

प्रतिक्रिया