काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरू उजुरी लिएर राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । आफूहरुको मानव अधिकार हनन् भएको भन्दै उनीहरू आयोग पुगेका हुन् । ‘विस्थापित भएपछिको अवस्था लिएर पनि उजुरी आएको छ’, आयोग अध्यक्ष तप बहादुर मगरले जानकारी दिए ।
उनले बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो जानकारी दिएका हुन । यो विषयमा पहिले पनि आयोगले सिफारिस गरेको उनले स्मरण गरे । ‘सुकुमवासी हटाउन सक्छ । तर, पहिले व्यवस्थापन गर्नुपर्छ भनेर आयोगले पहिले नै सिफारिस गरिसकेको छ’, अध्यक्ष मगरले भने, ‘तर, अहिले पनि यससम्बन्धि उजुरी आएको छ ।’
सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूलाई होल्डिङ सेन्टरमा राखेको थियो । त्यहाँको अवस्थालाई लिएर समेत आयोगमा उजुरी आएको अध्यक्ष मगरले बताए ।
आयोग सदस्य मिहिर ठाकुरले सिफारिस कार्यान्वयनको अवस्था कमजोर रहेको बताए । ‘आयोगका सिफारिस कार्यान्वयन हुँदैनन् । हामी आएपछि भएका सिफारिस एउटा पनि कार्यान्वयन भएको छैन’, उनले भने, ‘आयोगको सिफारिस कार्यान्वयन नहुदा पनि समस्या भएको छ ।’



प्रतिक्रिया