सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा पाँच वर्षको जेल सजाय पाएका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीबाट उनी पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले गौशाला-५ एमाले पार्टी कार्यालय अगाडि सार्वजनिक स्थानबाट बिहीबार साँझ ६ बजे पूर्वसांसद कोइरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोलाई भोलि शुक्रबार अदालतमा पेस गरिनेछ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । २०७२ भदौ २५ गते राति डिउटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या घटनामा पूर्वसांसद कोइरीलाई ५ वर्ष जेल सजाय तोकिएको छ ।
कोइरी यसअघि नेकपा एमालेका सांसद थिए । उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उक्त घटनाका कारण कोइरीलाई प्रतिनिधिसभाले निलम्वनसमेत गरेको थियो ।
उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो।
त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको थियो । तर, उनी राजनीतिक आडमा पक्राउ पर्न सकेका थिएनन् । तत्कालीन सभामुख देवराज घिमिरेले नयाँ नियमावली पारित भएपछि फेरि प्रहरीबाट पत्र आउनुपर्ने अडान लिएका कारण देखाउँदै बचाउ गर्दै आएका थिए ।




प्रतिक्रिया