काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भरतपुर महानगरपालिकाले सडकमा बनाइएको घण्टीका कारण सर्वसाधरणमा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ ।
रास्वपाले आज विज्ञप्ति जारी गरी मुलुकका विभिन्न स्थानमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, समर्थक तथा शुभेच्छुकले पार्टीको चुनाव चिह्न सार्वजनिक सम्पदामा बनाउने कार्य भएकोप्रति पार्टीको विशेष ध्यानाकर्षण भएको जनाएको छ ।
“राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु हुँदैन भन्ने पार्टीको स्पष्ट मान्यता रहेको सम्बन्धित सबैलाई स्मरण गराउँदै पार्टीको नीति तथा मान्यताबाट बाहिर गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न यही सूचनामार्फत सचेत गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ ।
पार्टीप्रतिको लगाव वा अन्य कुनै पनि बहानामा पार्टीको चुनाव चिह्न वा पार्टीको पहिचानसँग सम्बन्धित कुनै पनि सामग्री सार्वजनिक सम्पदाको दुरुपयोग गरेर बनाउने कार्य नगर्न नगराउनुहुन तथा गरिएको भएमा साविकै अवस्थामा ल्याइदिनु हुन पार्टीको देशैभरका सदस्य, समर्थक तथा शुभेच्छुकमा पार्टीको हार्दिक अनुरोध छ ।
रास्वपाले अति राजनीतिकरण र दलतन्त्रले जर्जर भएको अवस्थामा पुनः पुरानै ढाँचाका त्यस्ता गतिविधि नगरी सार्वजनिक सम्पत्तिको संरक्षण तथा प्रवर्द्धधनमा स्थानीय निकायको कार्यमा रचनात्मक सहयोग गर्न सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।







प्रतिक्रिया