काठमाडौं । नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढेपछि भारतमा निर्यात पनि बढेको छ । अहिले नेपालले भारतलाई आवश्यकताका आधारमा २४ सै घण्टा ३०० देखि ३५० मेगावाट हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ ।
नेपालले भारतलाई ४५२ मेगावाटसम्म विद्युत् निर्यात गर्न पाउने व्यवस्थाबमोजिम १० जलविद्युत आयोजनालाई अनुमति दिइएको छ। तर, उचित पूर्वाधारको अभावका कारण नेपालम उत्पादित विद्युत् खेर जान सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।
गत वर्ष मनसुनमा नेपालले भारतमा विद्युत् निर्यात गरेर २८ दिनमा १ अर्ब ७२ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो। सो अवधिमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क छ।
बिजुलीको उक्त मात्रा औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको अधिकारीहरूले बीबीसीलाई बताएका थिए। यसपालि प्रवक्ताले दाबी गरेको रकम तुलनात्मकरूपमा बढी छ।
प्राधिकरणका अनुसार नेपालले भारतलाई प्रतियुनिट ७ देखि ७.५ भारतीय रुपैयाँसम्म बेच्ने गेको छ । तर, सुख्खायाममा नेपाल आफैँले भारतसँग विद्युत् किन्ने गरेको छ । नेपालले भारसँग प्रतियनिट ११ रुपैयाँमा किन्ने गरेको प्राधकिरणको भनाइ छ ।
यद्यपि नेपालमा उत्पादन बढे पनि भारतबाट बिजुली आयात गर्ने क्रम रोकिएको छैन।
प्राधिकरणका अनुसार नेपालमा भौतिक पूर्वाधारको विकास हुन नसकेका कारण नेपालले भारतसँग विद्युत् लिन बाध्य हुनुपरेको छ । उदाहरणका लागि बर्खायाम होस वा हिउँमा सुदूरपश्चिमका लागि नेपालले भारतसँग विद्युत् खरिद गर्नेपर्छ ।
नेपालमा जलविद्युत्को जडित क्षमता झन्डै २,६६० मेगावाट रहेको र वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुनसक्ने बताइन्छ। तर, अधिकांश आयोजना नदीको बहावमा आधारित रहेकाले सुक्खायाममा उत्पादन उल्लेख्य रूपमा घट्ने गर्छ।
यस वर्ष असार मसान्तसम्ममा ३,००० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । प्राधिकरणले भने यस सामग्री तयार गर्दा २,८०० मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको बताएको छ ।
गत फेब्रुअरीमा नेपाल र भारतका ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले १३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारणलाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र बनाउने सहमति गरेको थियो।
उक्त निर्णय लागु भएको खण्डमा यस वर्ष नेपालमा उत्पादन हुने बिजुली खेर नजाने आशासमेत गरिएको छ।
त्यसका अतिरिक्त गत मे २३ मा एनटीपीसी विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरणबीच भारतको हरियाणामा उपभोग हुनेगरी विद्युत् खरिद तथा विक्रीको सहमति भएको छ।
प्राधिकरणले पाँच वटा आयोजनाबाट २०० मेगावाट विद्युत् विक्री गर्ने गरी मध्यकालीन विद्युत् खरिद विक्री सम्झौता भएको हो। त्यहाँको हरियाणा पावर पर्चेज सेन्टरले खरिद गर्ने गरी पाँच वर्षका लागि सम्झौता भएको विद्युत् व्यापार विभागले जनाएको छ ।
बाङ्ग्लादेशले नेपालसँग निजी क्षेत्रमार्फत् विद्युत खरिद् सम्झौता गरेको थियो । नेपालले बाङ्ग्लादेशमा पनि विद्युत् व्यापार सुरु गर्ने सचिव स्तरीय सैद्धान्तिक सहमति यसअघि नै भएको थियो।
नेपाल र बाङ्ग्लादेशबीच सिधा प्रसारण लाइन बनाउन नसकिने हुँदा निर्यातका निम्ति भारतीय भूमिमा भएका संरचना प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले भारतको एनटीपीसी विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बाङ्ग्लादेशको पावर डिभलपमेन्ट बोर्डबीच त्रिपक्षीय विद्युत् विक्री तथा खरिद सम्झौता गर्ने सहमति भएको हो।
सोहीअनुरूप नेपाल र भारतले सम्झौताको मस्यौदा बनाएर बाङ्ग्लादेशलाई पठाएको थियो। उताबाट पनि प्रारम्भिक प्रतिक्रिया र सुझाव प्राप्त भइसकेको अवस्था रहेको प्राधिकरणले जनाएको छ ।
हाल मस्यौदालाई अन्तिम रूप दिन नेपालले बाङ्ग्लादेशसँग संवाद गरिरहेको र यस विषयमा निष्कर्षमा पुग्न करिब दुई साता लाग्ने अधिकारीको भनाइ छ। उक्त मस्यौदामा विद्युत् खरिद् विक्री सम्झौतामा हुनुपर्ने सबै किसिमका प्राविधिक तथा व्यावसायिक प्रावधानहरू समेटिएको छ ।





प्रतिक्रिया