सक्रिय राजतन्त्रको पालामा चुच्चे नक्सा गायब भएको हो : सांसद् पन्त

काठमाडौँ  । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद रघुजी पन्तले सक्रिय राजनन्त्रका पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको र लोकतन्त्र हराएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजा महेन्द्र शाहको पालामा नेपालको चुच्चे नक्सा गायब पारिएको पन्तले बताए । नेपालमा गणतन्त्र आएपछि राजतन्त्रका पालामा हराएको चुच्चे नक्सा खोजेर पुनर्स्थापित गरिएको उनको भनाइ थियो ।

‘यो संसद्‌बाट केही अगाडि एकमतले चुच्चे नक्सा छाप्यौं । वि. सं. २०१२ सालमा छापेको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । २०१७ सालपछि पञ्चायतको अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बनायो ? जवाफ चाहियो । कहाँ हरायो र किन हरायो त्यो चुच्चे नक्सा ? त्यसको जवाफ दिनुपर्दैन ? अनि यो संसद्ले, गणतन्त्र आएपछिको संसद्ले आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनर्स्थापित गर्‍यो । अनि यो राष्ट्रियता कमजोर भएको हुन्छ ?,’ सांसद पन्तले भने, ‘राजा महेन्द्रको पालामा, सक्रिय राजतन्त्रको पालामा नेपालको चुच्चे नक्सा हरायो र लोकतन्त्र पनि हरायो । २०१७ सालको काण्ड गरेर सबै नेताहरूलाई प्रवाशमा पठाइयो, दशौं वर्ष जेलमा हालियो ।’

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निकालिएको जुलुसमा प्रदर्शन गरिएका प्लेकार्डलाई लिएर पनि सांसद पन्तले प्रश्न गरे । उनले राप्रपा लगायत राजावादीका क्रियाकलापबारे भने, ‘तपाईंहरू राजावादी भनेर जुलुस निकाल्नुहुन्छ । त्यहाँ सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यै हो देशभक्ति ? देशभक्तिको नमूना यै हो ?’

अहिलेको संविधानले राजतन्त्र नचिन्ने सांसद पन्तको भनाइ थियो । राजतन्त्र इतिहासको विषय भइकेको बताउँदै उनले संसारमा धेरै राजतन्त्र इतिहासको विषय भएका बताए । ‘अब पुनःस्थापना भन्नेहरूलाई सोधौं न, किन शाह वंशकै राजतन्त्र चाहियो ? यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला । त्योभन्दा अगाडिका लिच्छबी र किराँत किन नल्याउने ? त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुनःस्थापनाको कुरा नगर्ने ? कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन्, जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो,’ उनले भने ।

नेपालमा ज्ञानेन्द्र शाहले संवैधानिक राजतन्त्र उल्ट्याएको पनि पन्तले स्मरण गराए । ‘हामीले २०४६ मा मानेको संवैधानिक राजतन्त्र कसले उल्ट्यायो ? त्यो उल्ट्याएको राजा ज्ञानेन्द्रले असोज १८ र माघ १९ गरेर होइन ? अनि राजतन्त्र के को लागि चाहिएको ? त्यसैको लागि ?,’ राजपरिवारका व्यक्तिले गरेका क्रियाकलापबारे पन्तले थपे, ‘दसैं र तिहारमा लुकेर पारस शाहलाई युवराज बनाइयो । अनि युवराजले के-के गरे ? गीत गाएर घर फर्किएका कलाकार प्रविण गुरुङलाई मोटरसाइकलमा गइरहेको बेलामा पछाडिबाट गाडीले लखेटी-लखेटी किचाएर मारे, के यो पनि झुटो हो ? जब हल्ला भएर मुद्दा चलाउनुपर्ने भयो अनि एउटा भुजेल खडा गरियो, नक्कली चालक । उसले चलाइरहेको थियो गाडी भनियो । यै हैन राजतन्त्रमा भएको नमूना कानुनको शासन ?’

सांसद पन्तले बोलिरहेको बेला राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आपत्ति जनाएका थिए । सांसद पन्तले झुटो तथ्य राखेको भन्ने शाहीको दाबी थियो । त्यसपछि पन्तले इतिहास पढेर आउनका लागि शाहीलाई सुझाव दिएका थिए ।

सांसद पन्तले नेपाली जनतालाई राजतन्त्र नचाहिएको बताए । उनले सभामुखलाई संसद्मा राजतन्त्र पुनर्स्थापनाको बहस रोक्न पनि माग गरे । राजतन्त्र इतिहास भइसकेको उनको भनाइ थियो ।

राजाको ३० वर्षे पञ्चायतकालमा भन्दा अहिले नेपालको हरेक क्षेत्रमा अगाडि रहेको सांसद पन्तको भनाइ थियो । ‘सन् २००५ मा नेपालको कूल ग्राहस्थ उत्पादन जम्मा ८ अर्ब डलर थियो, सन् २०२३ मा ४४ अर्ब डलर पुगेको छ । तुलना गर्ने ? राजाको शासनलाई अहिलेसँग ? त्यसैले तथ्यमा जाउँ,’ पन्तले भने, ‘१५ वर्षअघिको तुलनामा पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ । बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँगाउँ पुगेका छन् । गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो ।’

राज्यबाट जनताका चाहना धेरै भएपनि यस अवधिमा केही भएको छैन भन्ने गलत भाष्य सामाजिक संजालको दुरुपयोग गरेर चलाइएको पन्तको भनाइ थियो ।

नेपालमा गणतन्त्र आएपछि महिलाको प्रतिनिधित्व संसद्मा ३३ र स्थानीय निकायमा ४० प्रतिशत पुगेको उनले स्मरण गराए । अहिले राजावादीले मधेसी र महिला राष्ट्रपति भएको देखिनसहेको पन्तको भनाइ थियो । ‘राजाको ठाउँमा तराईंमा बालककालमा भैंसी चढेर गोठालो जाने, पढेर डक्टर भएको पहिलो तराईंको भूमिपुत्रलाई देशको पहिलो राष्ट्रपति बनायो के बिग्रियो ? त्यसपछि पहाड भोजपुरकी एउटा सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन् के बिग्रियो ?,’ सांसद पन्तले भने, ‘आज आएर तनहुँको सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ, के बिग्रिएको छ ? हिजो सामान्तवादीको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाआई गरिब जनताको छोरा राष्ट्रपति भएको असैह्य भएको होला ।’

सांसद पन्तले गलत भाष्य स्थापित भइरहेको बेला सरकार र मन्त्रीहरूले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने बताए । उनले काम नगर्ने मन्त्रीहरूलाई पदबाट हटाएर नयाँ मन्त्री ल्याउन पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया