काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरत महताले आगामी सेप्टेम्बरमा फ्रान्सको पेरिसमा हुने पारालिम्पक खेल्नेभएका छन । तेक्वान्दो खेल्न थालेको १५ महिनामै विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा छनोट भएकामा सुरुमा उनलाई पत्यार नै लागेन ।
बिहानको अभ्यासपछि उनी मामाघरमा थिए । ‘गुरुले तिमीले वाइल्ड कार्ड पायौँ भन्नुभयो । मलाई त विश्वास नै लागेन । त्यो दिन कसैलाई भनिन’, भरतले सुनाए ।
भोलिपल्ट उनी तेक्वान्दो संघको कार्यालयमा गएर पेरिस पारालिम्पिकमा आफूले भाग लिने कुरामा निश्चिन्त भएपछि मात्र घरमा फोन गरेर सुनाए । ‘आमा एकदम खुशी हुनुभयो । हिजो थाहा भएर किन लुकाइस् भन्नुभयो’, उनले भने ।
भरतले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी हुनेछन् र त्यसमा छानिने भरत अन्तिम खेलाडी हुन् ।
पेरिस पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दोमा २ खेलाडी सहभागी हुने पक्का भएको छ । पलेसा गोबर्द्धन छनोट चरण पार गरेर पारालिम्पिकमा छनोट भइसकेकी छन् ।
भरतले पनि छनोट चरण पार गरेर ओलम्पिक पुग्ने लक्ष्य राखेका थिए तर सफल हुन सकेनन् । ‘छनोटमा स्वर्ण जितेर नै पारालिम्पिकमा पुग्ने लक्ष्य थियो । तर त्यहाँ मेरो सपना पूरा भएन’, भरतले भने, ‘मैले एउटा खेल जितेको थिएँ । त्यसपछि ८१औं वरियतामा आएँ । पहिलो प्रतियोगिता भएर अलि नर्भस पनि भएँ ।’







प्रतिक्रिया