कैलालीका १५ विद्यालयको नतिजा शून्य

काठमाडौं । कैलालीका सामुदायिक विद्यालयको एसइईको नतिजा कमजोर देखिएको छ।

यस वर्षको एसइइमा कैलालीबाट १८ हजार ६० विद्यार्थी एसइइमा सहभागी भएकोमा ३०.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले जनाएको छ।

एक सय ७५ वटा सामुदायिकसहित दुई सय ९३ वटा विद्यालय एसइईमा सहभागी भएकामा १५ वटा विद्यालयको नतिजा शून्य आएको छ। १४ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयको नजिता शून्य आएको शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।

कैलारी गाउँपालिकाको राष्ट्रिय मावि घुँइयाघाट, गोदावरी नगरपालिकाको दुर्गा मावि कोल्मुडा तथा चुरे गाउँपालिकाको जनता मावि बैसेनी र जनता मावि शान्तिनगर र भगवती मावि कोतढुंगेनीको नतिजा शून्य आएको छ। यी विद्यालयबाट क्रमशः ३५, ४९, ३६, २१ र १६ जना विद्यार्थी एसइइमा सहभागी भएका थिए ।

त्यस्तै टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शून्य छ । राष्ट्रिय माविबाट २३ र त्रिभुवन माविबाट २६ जनाले एसइई दिएका थिए। आठजना विद्यार्थी परीक्षामा सहभागी गराएको टीकापुरको निजि विद्यालय सगुन एकेडेमीको नतिजा पनि शूल्य आएको समन्वय इकाइले जनाएको छ ।

भजनी नगरपालिकाको सरस्वती मावि नवलपुर, महेन्द्र मावि पगियापसार, राष्ट्रिय मावि महादेउली, राष्ट्रिय मावि ढुसी र राष्ट्रिय मावि पल्टुपुरको नतिजा शून्य आएको शिक्षा अधिकृत धामीले जानकारी दिए । यी विद्यालयबाट क्रमशः २४, ३१, २४, २० र ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।

मोहन्याल गाउँपालिकाको भैरवमाला मावि सुगरखाल र मोहन्याल मावि बडीकाफाइको नतिजा पनि शून्य आएको छ । भैरवमालाबाट २२ र मोहन्यालबाट २६ जनाले एसइइ दिएका समन्वय इकाइले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार