काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन नलगाएको भनी प्रश्न गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले एउटै मञ्चमा बसेका ओलीलाई यस्तो प्रश्न गरेका हुन् । सोही मञ्चमा रहेर आजै पूर्वराष्टपति विद्यादेवी भण्डारी पनि मदनलाई सम्झिएर भावुक भएकी थिइन् ।
सो क्रममा देउवाले भने, ‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुपर्यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ?’
एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएको र मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति नै भएको भन्दै देउवाले मदनको हत्यामा संलग्न पत्ता लगाउन एमालेले नै चासो नदिएको दाबी गरे ।
सो क्रममा उनले भने, ‘दुई पटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको रु त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्यो तपाईंहरुले ।’


प्रतिक्रिया