काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । एक स्रोतका अनुसार सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम सुरु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी सभामुखलाई दिएको छ ।
सीआईबीले सभामुख देवराज घिमिरेलाई बुझाएको पत्रमा सरकारी जग्गामा आफ्नो नाममा पारेको भनी उल्लेख छ । सो पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ ।’
संविधानमा संसद अधिवेशन चलिरहेका बेला फौजदारी कसूरमा सांसदलाई पक्राउ गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ ।
विनोद चौधरी वर्तमान संसद हुन् । उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य हुन् ।
तर अनुसन्धान भइरहेको विषयमा जानकारी गराउनुपर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । सीआईबी अधिकारीहरुका अनुसार सांसद चौधरीबारे संसद वा सभामुखले कुनै जानकारी पनि मागेको छैन । सांसद् चौधरीबारे ससदमा पनि आवाज उठेको थियो ।




प्रतिक्रिया