इजरालबाट २५३ जना नेपाली विद्यार्थी स्वदेश फिर्ता, शव ल्याउन अझै केही दिन लाग्ने

काठमाडौं । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली स्वदेश फिर्ता भएका छन् । उनीहरु नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट बिहीबार राति साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएको छ ।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।

आक्रमण सुरु भएपछि उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत हम्मे परेको थियो । नेपाली विद्यार्थीले आफू असुरक्षित रहेको भन्दै सुरक्षित स्थानमा सार्न आग्रह गरेको करिब चार दिनपछि मात्रै उनीहरूलाई पूर्ण रूपमा उद्धार गरिएको थियो ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई समेत सुरक्षित ठाउँमा सारिएको थियो । आक्रमणमा परी घाइते भएकाहरुमध्ये चार जनाको उपचार भइरहेको छ भने नेपाली विद्यार्थी विपिन जोशी हराएका छन् ।

परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।

बिहीबारसम्म करिब चार सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना मात्रै फर्किएका छन् ।

प्रतिक्रिया