बुधबारदेखि पाँच दिन झरीको सम्भावना, केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने

काठमाडौं । आगामी बुधबारदेखि आइतबारसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् विनोद पोखरेलले आफूले अध्ययन गरिरहेका मौसम पूर्वानुमान मोडेलहरूले केही क्षेत्रमा उक्त अवधिभर २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो वर्षा एकै दिनमा नभई पाँच दिनको अवधिमा हुने सम्भावित कुल वर्षा भएको स्पष्ट पारेका छन् । उनका अनुसार वर्षाको वास्तविक मात्रा, समय र प्रभावित क्षेत्रबारे थप पूर्वानुमानसँगै परिवर्तन हुन सक्छ ।

वर्षाको असर कति गम्भीर हुन्छ भन्ने कुरा यसको मात्रा, समय र प्रभावित क्षेत्रको भौगोलिक अवस्थामाथि निर्भर रहने पोखरेलको भनाइ छ । छोटो समयमा ठूलो वर्षा भएमा मनसुनकै समयमा जस्तै जोखिम निम्तिन सक्ने उनले बताएका छन् । कात्तिकमा धान भित्र्याउने र हिमाली क्षेत्रमा पदयात्रा तथा यात्रा गर्ने समय भएकाले यसले थप समस्या निम्त्याउन सक्ने उनको आकलन छ ।

वर्षासँगै हावाहुरी र असिना परेमा जोखिम अझ बढ्न सक्ने उनले उल्लेख गरेका छन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले मौसमको नियमित जानकारी लिन र आधिकारिक सूचनाका आधारमा मात्र यात्रा योजना बनाउन उनले आग्रह गरेका छन् ।

पोखरेलले अहिले विकसित भइरहेको मौसमी प्रणालीमा सन् २०१४ अक्टोबर १४ मा आएको हिमआँधीसँग केही समानता देखिएको पनि बताएका छन् । हुदहुद चक्रवातसँग सम्बन्धित उक्त घटनामा अन्नपूर्ण क्षेत्र आसपासका पदयात्रा मार्गमा ४३ जनाले ज्यान गुमाएका थिए । यद्यपि, अहिलेको मौसम प्रणालीको परिणाम पनि त्यस्तै हुन्छ भन्ने निश्चित नभएको उनले स्पष्ट पारेका छन् ।

यसअघि भएका वर्षा र पहिरोका कारण कमजोर बनेका सडक तथा भिरालो जमिनमा थप वर्षा हुँदा पहिरो जाने, सडक अवरुद्ध हुने र बाढी आउने जोखिम बढ्न सक्ने उनको भनाइ छ । बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणाली र माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाबीच अन्तरक्रिया भएमा भारी वर्षाको सम्भावना बढ्न सक्ने उनले बताएका छन् ।

यसैबीच, नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली बंगालको खाडीमा विकसित हुन थालेको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा त्यस आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त न्यूनचापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै कात्तिक ९ गते सोमबार चक्रवातमा विकसित हुने सम्भावना छ । त्यसपछि पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

यस मौसमी प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

यद्यपि, यस प्रणालीका कारण नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र कुन क्षेत्रमा बढी असर पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने विभागको भनाइ छ ।

सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार