काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपाल–भारत सम्बन्ध र नेपाली राष्ट्रवादबारे वाग्लेले व्यक्त गरेको धारणाको आलोचना गर्दै बास्कोटाले त्यसलाई बौद्धिक ज्ञानको टाट पल्टाइको संज्ञा दिएका हुन् ।
बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्लेमाथि कटाक्ष गर्दै भारत भ्रमणका क्रममा उनले नेपालको राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।
‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो,’ बास्कोटाले लेखेका छन् ।
हालै भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपालमा विगतमा भारतको विरोध गर्नुलाई नै राष्ट्रवादका रूपमा व्याख्या गर्ने गरिएको धारणा राखेका थिए । नयाँ पुस्तामा भने यस्तो सोच परिवर्तन हुँदै गएको उनको भनाइ थियो ।
वाग्लेको यही अभिव्यक्तिलाई लिएर बास्कोटाले आलोचना गरेका हुन् । नेपाल–भारत सम्बन्ध र राष्ट्रवादको व्याख्यालाई लिएर दुई नेताबीच सार्वजनिक रूपमा मतभेद देखिएको छ ।




प्रतिक्रिया