कोलकातामा दुर्गा पूजामा भागदौड, १९ जनाको मृत्यु, २५ घाइते

काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा सुरु भएपछि दुर्गा पूजा मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न हतारिँदा भागदौड मच्चिएको हो। केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जना घाइतेको उपचार भइरहेको जानकारी दिएका छन्। उनले घटनाको छानबिन गर्न उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिने पनि बताएका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। अनुसन्धानका क्रममा केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको छ। भीड व्यवस्थापन र सुरक्षा प्रबन्धमा कमजोरी भए–नभएको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
दुर्गा पूजा पर्वलाई लक्षित गर्दै कोलकाताभरि स्थानीय भाषामा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय पूजा मण्डप निर्माण गरिएका छन्। घटनापछि सम्भावित जोखिम कम गर्न अधिकारीहरूले सहरका अत्यधिक भीडभाड हुने स्थानहरू अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन्।
भारतमा ठूला धार्मिक पर्व तथा जमघटका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन्। लाखौँ मानिस एकै ठाउँमा भेला हुने यस्ता अवसरमा पर्याप्त सुरक्षा व्यवस्था र प्रभावकारी भीड व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति हुने गरेको छ।
यसअघि सन् २०२५ जनवरीमा महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।
त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने हल्लापछि तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको ज्यान गएको थियो। उक्त घटनामा केही मानिसको नदीमा डुबेर समेत मृत्यु भएको थियो।

प्रतिक्रिया