नेपाल बिज्ञापनको‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन कार्यक्रम ‘कृति इग्नाइट’ सम्पन्न गरेको छ । कार्यक्रमसँगै नेपालको विज्ञापन तथा आमसञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्ड्सको १३औँ संस्करण औपचारिक रूपमा सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा विज्ञापन तथा आमसञ्चार क्षेत्रका विज्ञ, उद्योगी, व्यवसायी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

यस वर्षको कृति अवार्ड्सलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र विज्ञापन बोर्डले समर्थन गरेका छन् । त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल पहिलोपटक कृति अवार्ड्सका सह–आयोजकका रूपमा सहभागी भएका छन् ।

१३औँ संस्करणमा आनका गैरसदस्यलाई समेत मनोनयनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रमुख व्यावसायिक संघसंस्थाको समर्थन, विभिन्न सञ्चार तथा मिडिया संस्थाको सहआयोजना र गैरसदस्यका लागि समेत मनोनयन खुला गरिनुलाई कृति अवार्ड्सलाई थप समावेशी र राष्ट्रियस्तरको बनाउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।

कार्यक्रममा नेपालको विज्ञापन उद्योग तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल सामग्री प्रस्तुत गरिएको थियो । आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवद्र्धक तथा मिडिया अलायन्स नेपालका संस्थापक अध्यक्ष भास्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए ।

कृति अवार्ड्सको १३औँ संस्करणका शीर्ष प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको समापन गर्दै आनका अध्यक्ष सुदीप थापाले सहयात्री तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार