तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले नेपाली पक्ष नाका सञ्चालनका लागि पूर्ण रूपमा तयार रहेको बताए ।

उनका अनुसार विपद्का कारण क्षति पुगेका सडक तथा पूर्वाधार पुनःस्थापनाको काम सरकारले तत्काल अघि बढाएको छ । तर, चिनियाँ पक्षबाट नाका सञ्चालनका लागि अझै ‘ग्रिन सिग्नल’ प्राप्त भएको छैन ।

मन्त्री लम्सालले भने, ‘तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार छ । हामीले बाटो सञ्चालनमा ल्याइसकेका छौँ । चिनियाँ पक्षसँग दैनिकजसो संवाद भइरहेको छ ।’

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण चिनियाँ पक्ष नाका सञ्चालनप्रति केही हदसम्म अनिच्छुक देखिएको उनको भनाइ छ । यद्यपि, चाँडै नाका सञ्चालनमा ल्याउन सफल हुने उनले विश्वास व्यक्त गरे ।

मन्त्री लम्सालले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनका लागि पनि सरकारले योजना बनाएर काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार