परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो ।

मन्त्री खनालले नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी)मा सम्बोधन गर्नेछन् । उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन् । उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार