काठमाडौं कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना यात्रु घाइते भएका छन्। मंगलबार बिहान करिब १ः३० बजे शिवराज नगरपालिका–१ स्थित चोरखोलामा चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७३० नम्बरको बसमाथि अचानक ढुंगा खसेको सशस्त्र प्रहरीले जनाएको छ।
बसमा ३० जना यात्रु सवार थिए। ढुंगा खस्दा चारजना यात्रु सिटमै च्यापिएका थिए। घटनापछि चालकले बसलाई दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुर्याएर प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि पुगेको प्रहरी टोलीले सिटमा च्यापिएका चारैजनाको उद्धार गरी उपचारका लागि भालुवाङ अस्पताल लगेको थियो। उनीहरूको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
घाइते हुनेमा बर्दियाका ३७ वर्षीय द्वारिकाप्रसाद थारू, ३५ वर्षीय सुरेशलाल थारू, चितवनकी २० वर्षीया सलिना सुनार र कञ्चनपुरकी ४० वर्षीया भगवती कँडेल रहेका छन्।





प्रतिक्रिया