राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी नियन्त्रणमा रहेका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आयोगको टोलीलाई भेट्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
आइतबार जारी विज्ञप्तिमार्फत आयोगले निष्पक्ष छानबिन तथा आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
आयोगले भनेको छ, “निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।”
प्रहरीले आइतबार राति पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौंको महाराजगन्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको थियो।
आयोगको टोली आइतबार बिहानै जबराको अवस्था बुझ्न टेकु पुगे पनि प्रहरीले टोलीलाई उनीसँग भेट गर्न अनुमति नदिएको आयोगले जनाएको छ। त्यसपछि प्रहरीले जबरालाई सुरक्षित स्थानमा सारेको थियो।
आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोग गरी अनुगमन गर्न पुगेको टोलीलाई भेट गर्न नदिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “उल्लिखित संवैधानिक तथा कानुनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ।”
जबरालाई पक्राउ गरिएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा आयोगले प्रहरीको उच्च नेतृत्वसँग समेत यस विषयमा जानकारी मागेको उल्लेख गरेको छ। तर आयोगको टोलीलाई अनुगमन गर्न नदिएको कारणबारे प्रहरीले स्पष्ट जानकारी नदिएको आयोगको भनाइ छ।
आयोगले भनेको छ, “अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो, यस विषयमा समेत टोलीलाई जानकारी दिइएन।”
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आयोगले आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने व्यवस्था छ। साथै, मानव अधिकार संरक्षणका लागि त्यस्ता निकाय, संस्था वा स्थानमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने कानुनी व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

प्रतिक्रिया