१७ जिल्लामा बाढी उच्च सम्भावना,ती जिल्ला कुनकुन हुन् ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार देशभरका नदी तथा खोलामा पानीको बहाव उच्च रहने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित उपत्यकाबाहिरका विभिन्न उपत्यका, मधेस तथा पहाडी क्षेत्रका ३४ भन्दा बढी जिल्लाबाट बहने साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको छ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका केही जिल्लामा बहने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रअन्तर्गत १७ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम उच्च रहने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ र स्याङ्जा तथा लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, नवलपरासी पूर्व तथा पश्चिम, पाल्पा र गुल्मीमा बाढीको जोखिम उच्च रहेको जनाइएको छ। चितवनमा पनि साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी, कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको महाशाखाले जनाएको छ। नारायणी नदीका सहायक बुढीगण्डकी, मर्स्याङ्दी, सेती, माडी, बडिगाड र कालीगण्डकीमा पानीको बहाव थप उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले नदी तथा खोलाको आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार