देउवा समूहको वडा अधिवेशन तयारी तीव्र

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारीले गति लिएको छ। यसक्रममा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

शनिबार आयोजित कार्यक्रममा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज पौडेलले निर्वाचन समितिका संयोजक एगराज पोखरेललाई सदस्यताको सूची हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएको सूचीअनुसार कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर ८ लाख ८९ हजार २३६ क्रियाशील सदस्य कायम भएका छन्। तीमध्ये ५ लाख ६१ हजार २६९ सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख ९० हजार ४६७ नयाँ क्रियाशील सदस्य थपिएका छन्।

प्राप्त जानकारीअनुसार १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको निर्देशनमा आगामी असोज १५ गतेदेखि देशभरका वडामा अधिवेशन प्रक्रिया सुरु गर्ने कार्यतालिका छ। वडा तहको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको निर्वाचन समितिलाई सोहीअनुसार क्रियाशील सदस्यताको अन्तिम सूची उपलब्ध गराइएको हो।

महाधिवेशन प्रक्रियालाई सहज र पारदर्शी बनाउन कांग्रेसले अनलाइन सदस्यता आवेदन प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। इच्छुक व्यक्तिले पार्टीको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई हस्तान्तरण भएसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार