काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने भएको छ । यस्तै, असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ । महाधिवेशनको उद्घाटन असोज १६ गते दिउँसो १ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।
बैठकले विशेष महाधिवेशन सम्पन्न हुनुअघिका तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यलाई पनि विधानबमोजिम १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागी हुने आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ ।
महाधिवेशनलाई केवल प्राविधिक प्रक्रिया नभई पार्टीको राजनीतिक ‘महाउत्सव’का रूपमा अघि बढाउनुपर्ने भन्दै कांग्रेसले आन्तरिक असहमति र चासोलाई संवाद, सहमति र सहकार्यबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । सबै पक्षको सहभागिता सुनिश्चित गर्न केन्द्रीय समिति, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति र अधिवेशन व्यवस्थापनमा समेत आवश्यक लचकता अपनाइएको कांग्रेसको भनाइ छ ।
बैठकले पार्टीका क्रियाशील सदस्यहरूको नामावलीसमेत स्वीकृत गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सभापति थापासमक्ष पेस गरेको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।
यसैबीच, केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट दिएको राजीनामाबारे सभापति थापाले बैठकलाई जानकारी गराएका छन् ।
कांग्रेसले महाधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन देश तथा विदेशमा रहेका पार्टी सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वानसमेत गरेको छ। वडा अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीको सांगठनिक जीवनलाई थप उत्साहपूर्ण र एकताबद्ध बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।



प्रतिक्रिया