गृहमन्त्रीसँग सामान्य भनाभन भएको हो, तर बाहिर आएजस्तो होइन: क्रान्तिशिखा

काठमाडौं । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले गृहमन्त्री सुधन गुरुङ सामान्य वैचारिक बेमेल भएको तर बाहिर आएको हल्लाजस्तो नभएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘तपाईँहरूले सोध्नुभएको, सुन्नुभएको कुराहरू सत्य-तथ्य हुन्, यदि त्यसमा आधारित भएर प्रश्न गर्नुभएको हो भने मलाई पनि उत्तर दिन सजिलो हुन्छ । तर बाहिर जाँदा, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा जाँदा कुराहरू बढेर जान्छन् ।’

गृहमन्त्रीले हप्काएको भन्नेबारे सोधिएको प्रश्नमा आफूलाई हप्काउने, दप्काउने वा होच्याउने भन्ने कुरा सुन्ने व्यक्तिले कसरी बुझे भन्नेमा पनि निर्भर रहने बताइन् । आफू स्वतन्त्र व्यक्ति भएकाले कसैले हप्काए पनि त्यसको उत्तर प्रत्युत्तर गर्न सक्ने उनको भनाइ छ । उनले आफूलाई हप्काउने ताकत नभएको पनि बताइन् ।

धितालले थपिन्, ‘वैचारिक मतभेदलाई मतभेदकै रूपमा लिऔँ । उहाँले आपत्ति जनाउन पाउनुहुन्छ, त्यो उहाँको नैसर्गिक अधिकार हो । उहाँ गृहमन्त्रीज्यू हुनुहुन्छ, उहाँलाई लागेको कुरामा हाम्रो छलफल हुन्छ ।’

उनले आफूहरूबीचको विषयलाई विवाद वा हप्काएको घटनाका रूपमा नलिएको स्पष्ट बताइन् ।

देश बाढी तथा विपद्को सामना गरिरहेको बेलामा नकारात्मक विषयभन्दा सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले आफू मनोसामाजिक परामर्शदाता पनि भएकाले सकेसम्म सकारात्मक बन्ने र नकारात्मक ऊर्जा प्रवाह नगर्ने प्रयास गर्ने बताइन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार