प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताका क्रममा शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका थिए। उनले बाढीपछि बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे पनि लक्सनलाई अवगत गराएका थिए।

प्रधानमन्त्री शाहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए। साथै, विपद्पछि न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति उनले धन्यवाद व्यक्त गरेका थिए।

नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि आवश्यक वित्तीय स्रोत जुटाउन न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

टेलिफोन वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा आएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार