गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिन अधिकारकर्मीको माग

काठमाडौं । अधिकारकर्मीहरूले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

बिहीबार भदौ २५ गते विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्।

गृहमन्त्रीले पत्रकारविरुद्ध प्रयोग गरेको धम्कीपूर्ण शब्दप्रति खेद व्यक्त गर्दै उनीहरूले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने तथा विपद् व्यवस्थापनको जिम्मेवारीमा रहेका गृहमन्त्रीको ‘अराजक’ शैली र अभिव्यक्तिले शासनप्रणालीकै गरिमा कमजोर बनाउने बताएका छन्।

गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपबारे गरिएको अनुसन्धानप्रति आफूहरूले यसअघि नै प्रश्न उठाउँदै आएको उल्लेख गर्दै अधिकारकर्मीहरूले आमपत्रकारप्रति गुरुङको आक्रामक टिप्पणीले पदको मर्यादा, संयम र गाम्भीर्य नबुझेको अनुभूति भएको बताएका छन्।

राज्यका जिम्मेवार व्यक्तिमाथि प्रश्न उठाउनु र उनीहरूलाई जवाफदेही बनाउनु पत्रकारको दायित्व भएको उनीहरूको भनाइ छ। पञ्चायतकालदेखि नै विभिन्न चुनौती, दबाब र धम्कीबीच सञ्चारजगत्ले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै उनीहरूले यसले लोकतन्त्र, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई बलियो बनाउन योगदान पुर्‍याएको बताएका छन्।

नेपालका पत्रकारले विगतमा अधिनायकवादी शैली अपनाउने राज्य सञ्चालकहरूको सामना गर्दै आएको र डर, त्रास तथा धम्कीका बीच पनि नागरिकलाई सुसूचित गराउँदै आएको अधिकारकर्मीहरूको भनाइ छ।

यद्यपि जिम्मेवार पत्रकारले आचारसंहिताविपरीत बिनाआधार र प्रमाण कसैबारे समाचार सम्प्रेषण गर्न नहुने उनीहरूले स्पष्ट पारेका छन्। सुनकाण्ड, नक्कली शरणार्थी काण्ड र सहकारी काण्डलगायत विषयमा तथ्य उजागर गर्न नहिच्किचाएका पत्रकार गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्तिबाट हतोत्साहित नहुनेमा आफूहरू विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति जारी गर्नेमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, दिनेश त्रिपाठी, श्यामकुमारी साह, सोम निरौला, सुबोध प्याकुरेल र अभिषेक अधिकारी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार