भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीपश्चात् प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम सहयोग गरिदिन गरेको अपिलसँगै विभिन्न व्यक्ति संघ संस्था तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतबाट उल्लेखित कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
प्रधानमन्त्रीको अपिलसँगै राहत जम्मा गर्ने क्रममा रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित माबी प्रेमपुर गोनाही विद्यालयका विद्यार्थीले खाजाको पैसा कटाएर गरेको सहयोगले धेरैको मन छोयो । यस्तै, नेकपा एमालेले प्रधानमन्त्रीले सहयोगका लागि अपिल गरेको राहत कोषमा रकम जम्मा नगरी आफैँले राहत वितरण गरेको विषय आलोचित बन्न पुग्यो।
प्रधानमन्त्रीले सहयोगका लागि अपिल गरेका यी दुई कोष एकै हुन कि फरक हुन् । यी कोषमा जम्मा भएको रकम कहाँ कहाँ खर्च गर्न सकिन्छ । यदि एकै हुन भने फरक फरक नाम किन र फरक फरक हुने भने यिनमा जम्मा भएको रकम फरक फरक किन भनिएन ? अनि यिनको प्रयोग गर्ने कानुन र कार्यविधि एकै हो कि फरक फरक छ ?
यहाँ यिनै दुई कोषको कानुनी र व्यवहारगत प्रसंगको चर्चा हुनेछ :-
सुरुमा प्रधानमन्त्री राहत कोषबारे चर्चा गरौँ :-
प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०१३ को दफा २ बमोजिम प्रधानमन्त्री सहायता कोषको स्थापना भएको हो । यो कोषको आय स्रोत नेपाल सरकारबाट प्राप्त रकम र अन्य स्रोतबाट प्राप्त रकम हो । अहिले सरकारले यस कोषमा अन्य स्रोत शीर्षकबाट रकम जम्मा गरिरहेको छ ।
जम्मा भएको रकम कहाँ कहाँ खर्च गर्न पाइन्छ ?
प्रधानमन्त्री सहायता कोषमा जम्मा भएको रकम गम्भीर बिरामी भई औषधोपचार गराउन नसक्ने अवस्थाका राष्ट्रिय जीवनका ख्याति प्राप्त व्यक्तिको औषधोपचारमा प्रयोग गर्न सकिनेछ । अझ अगाडि भनिएको छ आर्थिक अवस्था दयनीय भएका व्यक्ति बिरामी परी औषधोपचारका लागि अस्पताल ल्याउँदा र अस्पतालबाट लैजाँदा सहयोग गर्न सकिन्छ ।
दैवी प्रकोप वा दुर्घटनामा पर्नेहरुलाई उद्धार गर्न, सद्गत वा काजक्रिया खर्च बापत मृतकका आफन्तलाई सहयोग गर्न सकिन्छ । आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएका सामाजिक संघ संस्थाहरुलाई कुनै विशेष कार्यक्रम सञ्चालन गर्न सहयोग गर्न सकिन्छ ।
दैवी प्रकोपको कारणबाट देहावसान भएका व्यक्तिको काजक्रिया वा सदगतका लागि मृतकका आफन्तका लागि आर्थिक सहायता गर्न र कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्न सकिने व्यवस्था छ ।
तर, यसरी सहयोग गरिन खर्च गरिने रकम प्रधानमन्त्रीले तोके बमोजिम हुनेछ । यसको अर्थ हो यो रकम प्रधानमन्त्रीले जहाँ जहाँ भन्यो त्यहीँ त्यहीँ खर्च हुने भयो । तर, प्रधानमन्त्रीको इच्छाविपरीत प्रधानमन्त्री सहायत कोषमा जम्मा भएको रकम खर्च गर्न सकिनेछ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३
यो कोष पनि अघिल्लो प्रधानमन्त्री सहायता कोष जस्तै प्रशासकीय कार्यविधी (नियमित) गर्ने ऐन, २०१३ बमोजिम स्थापना भएको हो ।
नियमावलीको दफा २ को ग मा बाढी, महिरो, आगलागी, भू–कम्प, आँधीबेरी, अतिवृष्टी, अनावृष्टी, पशुपंक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने सडकजस्ता दुर्घटना र औद्योगिक दुर्घटनालाई बुझाउँछ भनी उल्लेख गरिएको छ ।
कोषको आम्दानी ?
यस कोषको आम्दानी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक पदाधिकारी, सांसद, निजामती, जंगी तथा प्रहरी कर्मचारीले प्रदान गरेको रकम,
अन्य सरकारी तथा गैर सरकारी संस्था वा त्यस्ता संस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, उद्यमी, व्यापारी, विधिन्न पेशागत व्यक्तिहरु, राजनैतिक दल, ट्रेड युनियन, गैर सरकारी संस्था, नागरिक समाज वा सर्वसाधारणले स्वेच्छाले प्रदान गरेको रकम,
दातृ मुलुक, दातृ संस्था, अन्तर्राष्ट्रिय वा विदेशी गैर सरकारी संस्थाबाट कोषको नाममा सोझै प्राप्त भएको रकम,
नेपाल सरकारबाट कोषलाई प्रदान भएको रकम,
कोषलाई अन्य कुनै स्रोतबाट प्राप्त रकम
यस कोषको रकम कहाँ कहाँ खर्च गर्न पाइन्छ ?
यस कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्न दैवी प्रकोपबाट पीडित व्यक्तिको तत्कालीन राहतका लागि अस्थायी शिविर खडा गर्न सकिन्छ ।
दैवी प्रकोपबाट पीडित व्यक्तिको भरण पोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने साद्यान्न, लत्ता कपडा, औषधी, शैक्षिक सामग्री जस्ता अत्यावश्यक वस्तु खरिद गर्न सकिन्छ ।
दैवी प्रकापको कारणबाट घाइते वा विरामी भएको व्यक्तिको औषधी उपचार गर्न सकिन्छ ।
दैवी प्रकोपको कारणबाट देहावसान भएका व्यक्तिको काजक्रिया वा सदगतका लागि मृतकका आफन्तका लागि आर्थिक सहायता गर्न सकिन्छ । दैवी प्रकोपको कारणबाट भएको फोहोर मैला तथा प्रदुषणको विसर्जन (डिस्पोजल) गर्ने,दैवी प्रकोपबाट पीडित व्यक्तिको अस्थायी रुपमा आश्रयस्थल बनाउने वा पुनस्र्थापना गर्न,दैवी प्रकोपबाट पीडित व्यक्तिको आवासीय घर वा निजको पेशासँग सम्बन्धित औजार, वर्कशप मर्मतका लागि आर्थिक सहायता प्रदान गर्न, दैवी प्रकोप रोकथामका लागि सचेतमूलक कार्यक्रम संचालन गर्न,पूर्वसावधानी अपनाउने वा पूर्व तयारी गर्नका लागि कोषको रकम प्रयोग हुनेछ ।
यस कोषबाट के के गर्न सकिँदैन ?
तर यो कोषबाट कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई पारिश्रमिक, तलब, भत्ता वा सुविधा उपलब्ध गराइदैन । कुनै सरकारी वा गैर सरकारी कर्मचारीलाई भ्रमण खर्च वा अन्य त्यस्तै प्रकारको खर्च उपलब्ध गराइँदैन । कसैलाई चन्दा, पुरस्कार, उपहार वा अनुदान प्रदान गरिँदैन ।दैवी प्रकोपसँग सम्बन्धित विषयमा बाहेक कसैलाई आर्थिक सहायता उपलब्ध गराउन गराइँदैन ।



प्रतिक्रिया