काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ प्रेसिडेन्ट) घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा गरेको पोस्टमा आफ्नै तस्वीरसहित ‘एक्टिङ प्रेसिडेन्ट अफ भेनेजुएला’ लेखिएको छ। पोस्टमा जनवरी २०२६ देखि पद सम्हाल्ने उल्लेख गरिएको छ।
उक्त पोस्टमा ट्रम्पले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति पनि उल्लेख गरेका छन्। यस विषयमा ह्वाइट हाउस वा अमेरिकी प्रशासनतर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
यसअघि जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आक्रमण कारबाही गरेको थियो। उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अपहरण गरेर न्यूयोर्कमा लागुपदार्थ दुर्व्यसनी र मानवअधिकारविरुद्ध मुद्दा चलाइएको छ ।
भेनेजुएलाको प्रशासन अमेरिकाले चलाउने
ट्रम्पले भेनेजुएलाको प्रशासन अमेरिका स्वयंले सञ्चालन गर्ने बताएका छन्। त्यहाँ सुरक्षित सत्ता हस्तान्तरण नहुँदासम्म यो व्यवस्था कायम रहने उनको भनाइ छ। भेनेजुएलाका जनताको हित नसोच्ने व्यक्ति सत्तामा आउन नदिन आफूले जोखिम लिन नचाहेको ट्रम्पले बताएका छन्। तर, अमेरिकाले भेनेजुएलाका जनताको हितभन्दा पनि त्यहाँ रहेका खनिज पदार्थ र कच्चा तलमा आफ्नो वर्चस्व कायम गर्न यति नीच कार्य गरेको ओपन खुला रहको छ । मादुरो सत्ताबाट हटेपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई गत साता देशको अन्तरिम राष्ट्रपति रूपमा सपथ गराइएको छ ।
ट्रम्पका अनुसार अन्तरिम सरकारले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको प्रतिबन्धित तेल हस्तान्तरण गर्नेछ, जुन बजार मूल्यमा बिक्री गरिनेछ।
तेल बिक्रीबाट प्राप्त हुने रकम अमेरिकी राष्ट्रपति हैसियतमा आफ्नो नियन्त्रणमा रहने र त्यसलाई भेनेजुएला तथा अमेरिकी जनताको हितमा प्रयोग गरिने ट्रम्पको भनाइ छ। उनले यो योजना तत्काल कार्यान्वयन गर्न ऊर्जा सचिव क्रिस राइटलाई निर्देशन दिएका छन् । सँगसँगै ट्रम्पले भेनेजुएलामा आफ्ना अधिकारीलाई पठाउने तयारी गरेका छन् ।
कुन अमेरिकी कम्पनी भेनेजुएला जाँदैछन् ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्सन मोबिल, कोनोकोफिलिप्स, शेभ्रोनजस्ता ठूला अमेरिकी कम्पनीकासँग बैठक गरेका छन्। डोनाल्ड ट्रम्पका अनुसार भेनेजुएलामा कुन कम्पनी जाने र लगानी गर्ने भन्ने निर्णय अमेरिका स्वयंले गर्नेछ ।
अमेरिका जान शेभ्रोनका उपाध्यक्ष मार्क नेल्सन भेनेजुएलामा लगानी गर्न तत्पर रहेका छन् । सो कम्पनीके भेनेजुएलामा लगानी अहिले पनि रहेको छ । त्यसैगरी अन्य अमेरिकी कम्पनीले पनि भेनेजुएलामा लगानी गर्न इच्छा व्यक्त गरेका छन् ।
भेनेजुएला र अमेरिकाबीच कहिलेदेखि शितयुद्ध भयो ?
ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय होइन । दुई शताब्दीअघि सन् १८२३ मा अमेरिकाका तत्कालीन पाँचौँ राष्ट्रपति जेम्स मोनरोले ल्याटिन अमेरिकालक्षित विदेश नीति सञ्चालन गर्न ‘मोनरो डक्ट्रिन’ अघि सारेका थिए ।
त्यही डक्ट्रिनमा आधारित रही अमेरिकाले ल्याटिन अमेरिकी मुलुकहरूमा हस्तक्षेपकारी नीति लिन थाल्यो । त्यसैको निरन्तरता अहिले तेल र प्राकृतिक खनिजमा सम्पन्न मुलुक भेनेजुएलामा देखिएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले मोनरो डक्ट्रिनकै शैलीमा ‘डोनरो डक्ट्रिन’ अघि सारेका छन् । डोनरो डक्ट्रिन चाहिँ २१ औँ शताब्दीमा मोनरो डक्ट्रिनको डोनाल्ड ट्रम्पेली संस्करण हो ।
यही मोनरो डक्ट्रिनमा आधारित रहेर अमेरिकाले २० औँ शताब्दीको शुरुदेखि सन् १९३० को दशकसम्म ल्याटिन अमेरिकाका विभिन्न मुलुकमा ‘बनाना वार्स’ अर्थात् ‘केरायुद्ध’ लडेको थियो । अहिलेको २१ औँ शताब्दीमा अमेरिकाले अर्को ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा तेलयुद्ध चलाइरहेको छ।
२० औँ शताब्दीको शुरुमा अमेरिकी व्यापारिक हित, विशेषगरी केरा उत्पादन र निर्यातसँग जोडिएका कम्पनीहरूको सुरक्षा गर्ने नाममा केरायुद्ध चलाएको थियो । खासमा अमेरिकाको माटो र हावापानी केरा उत्पादनका लागि राम्रो मानिँदैन ।
तर, निकारागुवा, हन्डुरस, हाइटी, डोमिनिकन रिपब्लिक र पानामाजस्ता ल्याटिन अमेरिकी देशको हावापानी र माटो केरा उत्पादनका लागि सुहाउँदो मानिन्छ । लामो समयसम्म ती देशहरू केरा निर्यात गरेरै चलेका थिए । त्यसैले ती देशलाई बनाना रिपब्लिक अर्थात् ‘केरा गणतन्त्र’ भनियो । यो शब्दावलीलाई केही समयअघि नेपालमा पनि प्रचलनमा ल्याउने प्रयास भएको थियो ।
यस युद्धअन्तर्गत ल्याटिन अमेरिका र क्यारेबियन सागर क्षेत्रमा रहेका मुलुकहरूविरुद्ध संयुक्त राज्य अमेरिकाले बारम्बार सैनिक हस्तक्षेप गरेको थियो । ती युद्धहरू अमेरिकी निजी कम्पनीहरूको लगानी, विशेषगरी केरा, चिनी र अन्य वस्तुको उत्पादनसँग सम्बन्धित व्यापारिक हित संरक्षणका लागि गरिएको दाबी गरिन्छ ।
त्यसबेला अमेरिकामा केराको माग औधी हुन्थ्यो । केरा व्यवसायमा कुख्यात मानिएको युनाइटेड फ्रुट कम्पनी नामक अमेरिकी बहुराष्ट्रिय फलफूल कम्पनीको बोलबाला थियो । अमेरिकी सरकार र सेनासम्म यो कम्पनीको पहुँच थियो ।
त्यसैले, त्यहाँ रहेका विशाल केरा बगान, बन्दरगाह र रेलमार्गको सुरक्षा अमेरिकी विदेश नीतिको प्राथमिकता बनेको थियो । ल्याटिन अमेरिकी मुलुकहरूमा हुने केराको उत्पादन र त्यहाँबाट हुने आपूर्तिलाई सुदृढ र नियन्त्रण गर्न अमेरिकाले ती देशहरूमा सेना परिचालन गरेको थियो ।
परिणामस्वरुप धेरै ल्याटिन अमेरिकी देशका सरकार गिराइए, संविधान निलम्बन भएर स्थिरताको नाममा बन्दुकले राजनीति निर्देशित गर्यो । अमेरिकाले ती मुलुकमा आफूअनुकूल सरकार गठन गर्यो । तीमध्ये अधिकांश सरकार तानाशाही, निरङ्कुश, जनताप्रति नभइ अमेरिकी हितप्रति जिम्मेवार रहने किसिमका थिए ।
अमेरिकाले भने क्षेत्रीय स्थीरता कायम राख्न, युरोपेली शक्तिको प्रभाव रोक्न र अमेरिकी नागरिक एवम् निजी कम्पनीका सम्पत्ति जोगाउन केरायुद्ध सञ्चालन गरिएको बताउने गरेको छ ।
केरायुद्धमा सहभागी भएका अमेरिकी सैन्य अधिकारीका अनुसार युद्धलाई ‘अशुली धन्दा’ को संज्ञा दिएका छन् । ‘वार इज ए र्याकेट’ नामक किताबमा ‘युद्ध असुलीधन्दा भएको उल्लेख गरेका छन् ।
२० औँ शताब्दीमा केराका लागि अमेरिकी हस्तक्षेप २१ औँ शताब्दीसम्म आइपुग्दा ऊर्जा सुरक्षा र तेलसँग जोडिन पुगेको छ । समयसँगै साधन र बहाना फेरिएको छ, तर मूल उद्देश्य उस्तै छ ।
अमेरिकाले पहिला कुनै स्वार्थका लागि युद्ध लड्दा केही बहाना खोज्थ्यो । उदाहरणका लागि सन् २००३ मा इराकमाथि आक्रमण गर्दा तत्कालीन इराकी शासक सद्धाम हुसेनले विनाशकारी हतियार बनाएको आरोप लगाएको थियो ।
बहाना जे भए पनि इराकमा आक्रमण गर्नुको अमेरिकी स्वार्थ केही हदसम्म त्यो प्रष्ट भइसकेको छ । इराकमाथि अमेरिकी हमलाका कारण लाखौँ मानिस मारिए, दशौँ लाख विस्थापित र अङ्गभङ्ग भए । दशौँ अर्ब डलरको नोक्सानी भयो । यद्यपि विनाशकारी हतियार विकास गरेको आरोप आजपर्यन्त पुष्टि भएको छैन ।
विशेष सैन्य कारवाही सञ्चालन गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्ने क्रममा पनि अमेरिकाले उनीमाथि ‘लागूऔषध आतङ्कवाद’ अर्थात् ‘नार्को टेरोरिजम’ मा संलग्न भएको आरोप लगाएको छ । यसै आरोपमाथि अमेरिकी अदालतमा सुनुवाइ चलिरहेको छ । जहाँ मादुरोलाई युद्धबन्दीको शैलीमा अदालतमा उपस्थित गराइएको छ । यो आरोपमा कति सत्यता छ भन्ने कुरा अझै प्रश्नकै घेरामा छ ।
तर, राष्ट्रपति ट्रम्पलाई मादुरोमाथि लगाइएको नार्को टेरोरिजम वा यस्तै फाल्तू आरोप वा अदालती प्रक्रियासँग कुनै मतलब छैन । उनलाई भेनेजुएलाको तेल चाहिएको छ । उनले भेनेजुएलाको तेल भण्डार कुनै हालतमा अमेरिकी नियन्त्रणमा ल्याउने शैलीमा बारम्बार अभिव्यक्ति दिइरहेका छन् ।
गत शनिबार उनले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका थिए । त्यसबाहेक अमेरिकाले भेनेजुएलाको तेलमा ‘सधैँका लागि’ पहुँच पाउने ह्वाइट हाउसको घोषणा छ । यो तेल बजार मूल्यमा बेचिने र यसबाट आउने रकम भेनजुएला र अमेरिकी जनताको हितको काममा प्रयोग गरिने तर्क गरिएको छ ।
अमेरिकी उपभोक्ताहरूले अहिले ५६ डलर प्रतिब्यारेलमा तेल खरिद गरिरहेका छन् । भेनेजुएलाको तेल हासिल गरेपछि यो मूल्य ५० डलरमा झर्ने र यसबाट अमेरिकी उपभोक्तालाई आर्थिक राहत हुने अपेक्षा गरिएको छ ।
भनिन्छ– इतिहास दोहोरिँदैन, तर छन्द मिल्छ । भेनेजुएलामा देखिएका पछिल्ला घटनाक्रमले ठ्याक्कै केरायुद्धको झल्को दिएको छ । पहिले आफ्ना नागरिकलाई सस्तो केरा खुवाउन संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकामा सैन्य कारवाही गर्थ्यो । अहिले भने कल र मोटरमा सस्तो तेल भर्न भेनेजुएलामा सैन्य कारवाही गरेको छ ।





प्रतिक्रिया