रुस-युक्रेन युद्ध अन्त्य सम्भावना कति ?

युक्रेनले रुसका दुई तेल ट्याङ्करमाथि हमला गरेको छ । रुस-युक्रेन युद्ध अन्त्यका लागि प्रयास भइरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा हमला गरेको केही दिनपछि युक्रेनले ‘ब्ल्याक सी’ हुँदै यात्रा गरिरहेका ट्याङ्करमाथि हमला गरेको हो ।

ती दुवै जहाज रुसको छद्म ट्याङ्कर नेटवर्कको हिस्सा भएको बताइएको छ, जुन २०२२ मा युक्रेनमाथि गरिएको पूर्ण–स्तरीय आक्रमणपछि पश्चिमी प्रतिबन्धहरू छल्न रुसले प्रयोग गर्दै आएको सयौँ ट्याङ्करहरूको समूह हो ।

केही दिनअघि मात्र रुस- युक्रेन युद्ध अन्त्यका लगि अमेरिकाले २८ बुँदे प्रस्ताव तयार पारेको थियो । जसमध्ये केही बुँदामा युक्रेनी राष्ट्रपति जेलेनस्कीले असन्तुष्टि जनाएपछि ती बुँदालाई संशोधन गरी १९ बुँदामा झारिएको छ । तर, ती बुँदाहरु रूसतर्फ अत्यधिक ढल्किएको भन्दै आलोचना भइरहेको छ ।  उक्त प्रारम्भिक ढाँचाले युक्रेनको डोनबासको सम्पूर्ण क्षेत्र रूसलाई हस्तान्तरण गर्ने कल्पना गरिएको छ । जुन युक्रेनका लागि सर्वाधिक विवादित विन्दु बनेको छ । 

यिनै बुँदाका आधारमा युद्ध अन्त्य भए वा सहमति गरे युक्रेनले अन्य धेरै कुरा गुमाउने निश्चित छ । तयार बुँदामा युक्रेनको सेनाको आकारमा सीमा निर्धारण गर्ने, नाटोमा सदस्यता नदिने, १०० दिनभित्र निर्वाचन आयोजना गर्नुपर्ने बाध्यतालगायत विषय समावेश छन् । यिनै बुँदालाई अनुहार देखाएर अमेरिका र रुसले फाइदा लिँदैछन् । युक्रेनमा रहेका खनिज तथा स्रोत साधनको उपयोग अमेरिकाले लिने छ । र रिसयाले युक्रेनको भूभाग आफ्नो कब्जामा लिने छ । त्यसैगरी आवश्यक स्रोत र साधनको उपयोग गर्नेछ । तर अमेरिका जतिको चाहिँ होइन । सम्भवत: यही भएर हुनुपर्छ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुले दाबी गरेको क्षेत्रबाट युक्रेनी सेना पछि हट्नुपर्ने प्रस्ताव गरेका छन् । साथै उनले रुसले दाबी गरेको क्षेत्रबाट युक्रेन पछि नहटे रुसी सेनाले बलपूर्वक ती क्षेत्र कब्जामा लिने भनी चेतावनी नै दिएका छन् ।

 पुटिनले किर्गिस्तानको भ्रमणका क्रममा भने,

‘यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोड्यो भने हामी युद्ध अभियान रोक्नेछौँ’, ‘यदि उनीहरूले त्यसो गरेनन् भने हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौँ।’

त्यसैगरी, युक्रेनको पाँच भागको एक भाग रुसले नियन्त्रण गरेको छ। तर युक्रेनले रुसले कब्जा गरेको भूमिको मुद्दा कहिल्यै नछाड्ने बताएको छ । जुन शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोध हो ।

वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा भनेको युक्रेनको लागि पश्चिमी सुरक्षा सुनिश्चितता हो। भविष्यमा रूसले फेरि आक्रमण गर्नबाट रोक्नको लागि यो आवश्यक रहेको किएभले बताएको छ ।

युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना संयुक्त राज्य अमेरिकाले तयार गरिएको वासिङटनको मूल योजनाले किएभलाई पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसी भूगोलका रूपमा मान्यता दिने उल्लेख गरिएको छ।

अमेरिकाले किएभ र युरोपको आलोचनापछि गत हप्ताको अन्त्यमा मूल योजनालाई फिर्ता गर्दै अझै नयाँ संस्करण तयरा पारेको छ । तर, यो अझै जारी भएको छैन।

संशोधित नयाँ योजनाको अध्ययन गरेका पुटिनले यो वार्ताको सुरुवात हुन सक्ने बताका छन् ।

उनले पछिल्लो मस्यौदाबारे भनेका छन् :

 ‘समग्रमा, हामी सहमत छौँ। यो भविष्यका सम्झौताहरूको आधार बन्न सक्छ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन–रूस युद्धमा मध्यस्थता गर्न दबाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहन्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् ।

यो भेटवार्ताले आगामी दिनहरूमा मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ मा सुरु भएको रूसी आक्रमणविरुद्ध हाल युक्रेनले प्रतिरक्षा मोर्चामा दबाब बढाइरहेको अवस्थामा यो वार्ता युक्रेनका लागि अत्यन्तै संवेदनशील छ । त्यसैले युक्रेनी वार्ताकारहरूको टोली पुनःव्यवस्थित गरिएको छ ।

यसैबीच पुटिनले रुसले युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको पोक्रोभ्स्क र मर्नोग्राडमा युक्रेनी सेनालाई घेरेको दाबी गरेका छन् ।

त्यसैगरी पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन् र उनीसँग कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नु कानुनी रूपमा ‘लगभग असम्भव’ हुने बताएका छन्।

रुस-युक्रेन युद्धको अमेरिकापछि अर्को सशक्त खम्बाको रुपमा प्रस्तुत  रुप हो युरोप र यसमा आबद्ध भएका प्रमुख देश । अमेरिकाले तयार पारेका २८ बुँदामा केन्द्रित भई युद्धको अन्य गर्ने प्रयास भइरहँदा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले रूसको हालको मनोवृत्ति ‘युद्धविराम वा किएभका लागि अनुकूल प्रस्ताव’ नहुने बताएका छन् ।  

यस्तो अभिव्यक्ति दिएको केही दिनमै म्याक्रोनले युक्रेनका राष्ट्रपति जेलेन्सिकीलाई भव्य स्वागत गर्दैछन् ।

अमेरिकाले जेलेनस्कीसँग समन्वय गरी युद्धको अन्त्य गर्ने प्रयास गरिरँदा युरोपेली मुलुकको स्वार्थमा बाधा आउने देखेपछि युरोपेली मुलुक फ्रान्सले युक्रेनलाई आफूअनुकुल प्रयोग गर्ने प्रयासस्वरुप जेलेन्स्कीलाई फ्रान्समा स्वागत गर्न लागिएको हो ।

विगतमा युक्रेन अमेरिकाबाट आफू असुरक्षित भएको महसुस हुनेवित्तकै युरोपेली मुलुक पुग्दै आएको छ ।

जसको ज्वलन्त उदाहरणको रुपमा अकेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछिको घटनालाई लिन सकिन्छ ।

जसको पृष्ठभूमिको थोरै चर्चा गरौँ :

युक्रेनसँग युद्ध लड्ने साहस अमेरिकाकै पृष्ठभूमिमा गरेको थियो । जतिबेला अमेरिकामा डेमोक्र्याट धारको सत्ता थियो । जसको नेतृत्व गरेका थिए जोन बाइडेनले । तर, सन् २०२४ मा भएको निर्वाचनबाट अमेरिकाको सत्ता रिपब्लिकको हातमा पुग्यो । त्यो पनि डोनाल्ड ट्रम्पको । ट्रम्पको चुनावी नारा नै रुस युक्रेन युद्धमा अमेरिकाले गरेको लगानी बालुवामा पानी खनाएजस्तै हो भन्ने थियो । यसरी चुनाव जितेर आएका ट्रम्पले युक्रेनलाई अर्थिक तथा भौतिक सहयोग गर्ने त कुरै भएन ।

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्की आफूहरुलाई सहयोग गर्नुपर्ने भन्दै अमेरिका पुगे । सोही चरणमा ट्रम्प र जेलेन्स्कीबीच नोकझोक भयो । यही भेटमा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाए । जेलेन्स्की अमेरिका आफ्नो देशमा भएको खनिजसँग सम्झौता गर्न अमेरिका पुगेका थिए । ट्रम्पले युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । अमेरिकाले गरेको सहयोगप्रति जेलेन्स्की आभारीसमेत नभएको आरोप लगाए ।ट्रम्पले शान्ति नचाहेको भन्दै अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की रुससँग दुई हप्तामा पराजित हुने दाबीसमेत गरे ।

जोन बाइडेनको सरकारको सहयोगमा युद्ध लडिरहेका जलेन्सकी ट्रम्पसँगको मतभेदसँगै रन्थनिए । यसरी दाताबाटै असयोग गर्ने वचन आएपछि उनी फ्रान्स पुगे ।

अहिले अमेरिकाको मध्यस्थमा रुस युक्रेन युद्ध अन्त्य हुने संकेत देखिएपछि युरोप युक्रेनलाई आफूअनुकुल प्रयोग गर्न चाहन्छ । त्यसैले पनि युरोपेली मुलुक, अमेरिका र रुसबीच केही संशय बढेको छ । ट्रम्पले युद्ध अन्त्यका लागि पहल गरेपछि भ्लादिमिर पुटिन आफूअनुकुल नतिजा आउने कुरामा ढुक्क छन् । तर युरोपेली मुलुक भने युक्रेनको पक्षमा नतिजा नआउने भनी संसय व्यक्त गरिरहेको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमाथि आक्रमण गर्ने आफूहरूको कुनै उद्देश्य नरहेको बताएका छन् ।

कीर्गिस्तानको राजधानी बिश्केकमा समूहीय सुरक्षा सन्धि संगठनको शिखर सम्मेलनका क्रममा उनले युरोपेली नेताहरूलाई आश्वस्त पार्दै युरोपेली मुलुकमा कहिल्यै आक्रमण नगर्ने बताएका हुन् ।

उनले भने, “हामी कागजमा लेखेर दिन सक्छौँ– रुसले कहिल्यै युरोप वा नेटोमाथि आक्रमण गर्दैन ।” 

पुटिनले यस्ता आरोपलाई हास्यास्पद र झुटो भएको बताए । यस्ता आरोप युरोपेली नेताहरू आफैँले जनतालाई डराउनका निम्ति फैलाएको जिकिर पनि गरे ।

सीएसटीओ शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “रुसले युरोपमाथि आक्रमण गर्ने योजना बनाइरहेको भन्नु बकवास हो । हामीले कहिल्यै यस्तो सोचेकै छैनौँ… तर यदि उनीहरूलाई लिखित ग्यारेन्टी चाहिएको छ भने हामी कूटनीतिक भाषामा यसलाई औपचारिक रूपमा दर्ता गर्न तयार छौँ ।”

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २८ सूत्रीय शान्ति प्रस्तावलाई भविष्यको सम्झौताको आधार हुने टिप्पणी गरे ।

उनले भने, “यो कागजात मूलतः स्वीकार्य छ, तर केही बुँदाहरू अहिले हास्यास्पद लाग्छन् । हामी हरेक बुँदामा विस्तृत छलफलका निम्ति तयार छौँ ।”

प्रस्तावमा युक्रेनको सम्प्रभुतालाई मान्यता, त्यसको सैन्य क्षमतामा सीमा लगाइने, केही क्षेत्र रुसलाई सुम्पनुपर्ने र नेटो सदस्यता रोक्नेजस्ता प्रावधान समावेश छन् ।

पुटिनले युक्रेनले शान्ति प्रस्ताव स्वीकार नगरेमा रुसी सेनाले सैन्य तरिकाले आफ्नो लक्ष्य हासिल गर्ने बाटो अपनाउने भनी चेतावनीसमेत दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार