कुन-कुन सामाजिक सञ्जाल आए सम्पर्कमा ?

काठमाडौं । सरकारले दर्ता नभएर बन्द गर्ने निर्णय गरेको २६ वटामध्ये केही सामाजिक सञ्जाल सम्पर्कमा आएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्नका लागि पत्र पठाएको थियो। तीमध्ये केही सम्पर्कमा आएका छन् ।

सरकारले बन्द गर्ने निर्णय गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा मात्र अहिलेसम्म नेपाल सरकारसँग सम्पर्कमा आएका छन् ।

तर सर्वाधिक प्रयोगमा रहेका युट्युब र लिंक्डइनजस्ता ठूला प्लेटफर्महरूले अझै कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएपछि केही कम्पनीहरूले प्रक्रिया शुरू गरेका छन् ।

नेपालमै केन्द्रित ‘हाम्रो पात्रो’ले बिहीबारदेखि नै सूचीकरणका लागि निवेदन दिएर निष्क्रिय हुनबाट जोगियो । त्यसपछि मेटा (फेसबूक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स)ले पनि अनौपचारिक सम्पर्क गर्दै दर्ता प्रक्रियाबारे जानकारी लिएको छ ।

शुक्रबार ट्विटर (एक्स)ले भने औपचारिक रूपमा मन्त्रालयसँग सम्पर्क गर्दै आवश्यक कागजातबारे मागेको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

त्यस्तै चिनियाँ कम्पनी वी च्याटले समेत सूचीकरण प्रक्रियाबारे बुझ्न मन्त्रालयसँग सम्पर्क गरेको छ ।

उनका अनुसार बन्द गर्ने निर्णय भइसकेपछि बिहीबार नै हाम्रो पात्रोले दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको थियो। त्यसैले उक्त एप निष्क्रिय हुनबाट बचेको छ। त्योसँगै आजमात्र एक्सले दर्ताको प्रक्रियाबारे बुझेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार