रावल नयाँ पार्टी खोल्ने मोडमा, कहिले कहिले परे ओलीको निशानामा ?

काठमाडौं  । नेकपा एमालेका नेता भीम रावललाई अध्यक्ष ओलीसँग अध्यक्ष पदका लागि गरिएको प्रतिस्पर्धा महँगो भएको छ ।

नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रावल भूमिकाको हिसाबले एमालेको घेराभन्दा बाहिर छन् । पार्टीमा  भूमिकाविहीन छन् ।

केही दिनअघि गोदावरीमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि उनी तिरस्कृत भए ।
यसै क्रममा उनले गत १३ वैशाखमा पत्रकार सम्मेलन गरी आफू एउटा राजनीतिक घुम्तीमा पुगेको बताए।

पार्टी नेतृत्वबाटै आफूलाई अर्को घुम्तीमा धकेल्न खोजेको उनको ठम्याइँ छ । सोको परिणामस्वरुप उनी यतिखेर नयाँ पार्टी खोल्ने वा एकीकृत समाजवादीमा जाने भनी मन्थनमा छन् ।
तर, एक स्रोतका अनुसार रावलले नयाँ पार्टी बनाउने विकल्पलाई प्राथमिकतामा राखेका छन् । आफू नजिकका नेता तथा कार्यकर्तासँग भेटवार्ता बढाएका छन् ।

१० बुँदे सहमति गरेर पार्टीमा बसेपछि लगातार अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निषेध गरिरहेको भीम रावलको निष्कर्ष छ ।

माधव नेपाल र झलनाथ खनालले ९ भदौ २०७८ मा एमाले छोडेर एकीकृत समाजवादी गठन गरे ।तर, रावलसहित १० नेता एमालेमै फर्किएका थिए । सो समझदारीमा नेता रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाउने उल्लेख थियो । तर, उनलाई इन्चार्ज बनाइएन । सो सँगै रावल असन्तुष्ट बनेका थिए । बरु एमालेका १० भाइ भनी लामो समय आरोप खेप्नुपरेको थियो ।

सोही क्रममा भएको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए । त्यसपछि उनी झन ओलीको निशानामा परेका थिए ।
त्यस्तै, संकल्प यात्रामा अध्यक्ष ओलीले नेतृत्व गरेको टोली फर्किएपछि रावल सुदूरपश्चिम पुगेका थिए ।

प्रतिक्रिया