काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ ।
राप्रपाको तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकमा रिपोर्टिङका क्रममा नेताहरुले देश आन्दोलन मुडमा रहेको निष्कर्ष सुनाएका थिए । उनीहरुले त्यसको तीन आधार पेश गरेका छन् । ‘आर्थिक सूचकहरुले देशले संघीयता धान्न सक्दैन भन्ने देखाएको छ’, एक पदाधिकारी भन्छन्, ‘हामीले उठाउँदै आएको हिन्दु राष्ट्र पुनस्र्थापनाको एजेण्डाका कारण पार्टीप्रति आकर्षण बढेको छ ।’
दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा हजारौं मानिस स्वस्फूर्त सहभागी हुनुले पनि देश आन्दोलनको मुडमा रहेको प्रष्ट भएको राप्रपाका नेताहरु बताउँछन् । विवादित छविका मेडिकल व्यवसायी प्रसाईले ७ मंसिरमा काठमाडौंमा प्रदर्शन गरेका थिए, जसमा ९ हजारभन्दा बढी मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्ट छ । यद्यपि त्यसपछिका दिनमा उनको आन्दोलनमा सहभागिता नगन्य रह्यो ।






प्रतिक्रिया