धुर्बे हात्तीमा स्याटलाइट जडान

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा केही वर्षयता आतंक मच्चाउँदै आएको धुर्बे हात्तीमा स्याटलाइट कलर जडान गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक विजय श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौला र नेपाली सेनाको प्राविधिक टोलीले उक्त हात्तीलाई डाट गरी स्याटलाइट कलर जडान गरेको हो।
२०६६ देखि २०६९ सालबीचमा उक्त हात्तीले त्यस क्षेत्रमा सबैभन्दा बढ्ता जनधनको क्षति पुर्‍याउँदै आएको थियो । उग्र स्वभावको उक्त हात्तीले गाउँहरूमा पसेर घरहरू भत्काउनुका साथै मानवीय क्षति समेत पुर्‍याउँदै आएको थियो।

धुर्बे हात्ती निकै उग्र भएपछि नेपाल सरकारले त्यसलाई गोली हानेर मार्ने निर्देशन समेत दिएको थियो।

सरकारको निर्देशनअनुसार सेनाले कैयौँ पटक प्रयास गरे पनि धुर्बे हात्तीलाई मार्न सकेन। तर २०६९ पछि एकाएक गायब भएको उक्त हात्ती अहिले फेरि चितवन राष्ट्रिय निकुञ्जमा देखा पर्न थालेको थियो।

केही शान्त रहेको धुर्बे हात्तीले दशैँ तिहारपछि पुनः घरहरू भत्काउने गर्न थालेपछि निकुञ्ज कर्मचारीहरूले त्यसको निगरानी गर्दै आएका थिए।
लामो समयको प्रयासपछि सोमवार धुर्बे हात्तीलाई डाट गरेर स्याटलाइट कलर जडान गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए।

कलर जडानपछि धुर्बे हात्तीको चालचलन थाहा पाइने र हात्ती कता छ भन्ने कुरा निकुञ्जको मुख्यालयमा बसेर नै निगरानी गर्न सकिनेछ। स्याटलाइट कलर जडानपछि त्यसबारे प्रत्येक एक(एक घण्टामा ती विवरणहरू आउने निकुञ्जका प्राविधिकहरूले बताएका छन्। चितवन र पर्सासम्म दुःख दिने गरेको उक्त हात्तीको दाह्रा समेत काटिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार