काठमाडौं । गाजामा तत्काल युद्धविराम गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकालाई युद्ध अपराधमा मिलीभगत गरेको आरोप लगाएका छन्।
अब्बासले गाजामा भएको इजरेली हमलाहरूमा प्यालिस्टिनी बालबालिका, महिला र वृद्ध वृद्धामाथि भएको रक्तपातका लागि अब आफूले वासिङ्टनलाई जिम्मेवार ठहर्याउने बताए।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो।
सुरक्षा परिषद्का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए। मतदान प्रक्रियामा यूके सहभागी भएन भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो।
सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ। अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ।
अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिसहरूको मृत्यु भएको थियो।




प्रतिक्रिया