नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको हो। उनले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ।

दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। विदेश मन्त्रालयको सचिवस्तरमा कार्यरत कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलो घटना हो।

भारतको विदेश मन्त्रालयमा विदेश सचिवबाहेक अन्य चार जना सचिव रहने व्यवस्था छ। यसअघि नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यकाल पूरा गरेर फर्किएका श्याम शरण र विनयमोहन क्वात्रा भारतको विदेश सचिव बनेका थिए।

सन् २०२५ देखि विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हाल्दै आएका दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतका रूपमा तीन वर्ष काम गरेका थिए। हाल उनी भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका छन्।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले इजरायलको तेल अभिभबाट आफ्नो कूटनीतिक करियर सुरु गरेका थिए। उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा काम गरिसकेका छन्।

सन् २००९ देखि २०११ सम्म उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यसअघि सन् २००६ देखि २००७ सम्म विदेश मन्त्रालयको नर्थ डिभिजनमा कार्यरत रहेका उनी सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनको सहसचिव बनेका थिए। उक्त अवधिमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा नजिकबाट काम गरेका थिए।

दलेलासँग व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा समेत लामो अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेका छन्।

त्यस्तै, उनले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा पनि काम गरेका थिए। वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया