हर्मुज जलमार्गमा बिछ्याएका इन्टरनेटका तारमा आक्रमण गर्ने इरानको चेतावनी

काठमाडौं । इरानले होर्मुज जलमार्ग हुँदै जाने समुद्रमुनिका इन्टरनेट केबलमा आक्रमण हुन सक्ने चेतावनी दिएको छ। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहेब्बीले अमेरिकाले पुनः सैन्य आक्रमण गरे क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने बताएका हुन्।

इरानी समाचार संस्था फार्सका अनुसार, होर्मुज जलमार्ग हुँदै जाने सातवटा प्रमुख समुद्रमुनिका केबल विश्वव्यापी इन्टरनेट र व्यावसायिक तथ्यांक प्रवाहका लागि महत्त्वपूर्ण छन्। इरानका लागि यो क्षेत्र असुरक्षित बने अरूका लागि पनि सुरक्षा सुनिश्चित नहुने मोहेब्बीको चेतावनी छ।

यसैबीच, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईका सल्लाहकार मोहम्मद मोखबरले इरानमाथि पुनः आक्रमण भए मध्यपूर्वका नौ देशमा जवाफी प्रहार गरिने बताएका छन्। इरानी सैन्य अड्डा वा पेट्रोकेमिकल पूर्वाधारमा हमला भए ती देशलाई निसाना बनाइने उनको भनाइ छ। तर, उनले ती देशको नाम खुलाएका छैनन्।

आईआरजीसीका प्रवक्ता मोहेब्बीले मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य अड्डा निष्क्रिय अवस्थामा रहेको र अमेरिकी सेना इरानबाट सयौँ किलोमिटर टाढा सरेको दाबीसमेत गरेका छन्। उनका अनुसार, अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरे पनि नयाँ सैन्य द्वन्द्वबाट थप उपलब्धि हासिल गर्न सक्ने अवस्थामा छैन।

प्रतिक्रिया