आज महानवमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने बडादशैंको नवौँ दिन आज देशभर महानवमी पर्व धार्मिक विधिअनुसार नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै छ । नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाअर्चना गरिन्छ ।

आजका दिन आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी राखिएको जमरा विभिन्न शक्तिपीठ, दशैँघर तथा कोतहरूमा लगी चढाइने गरिन्छ । देशका प्रमुख देवी मन्दिरहरूमा बलिसहित विशेष पूजाका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्रको पाठपारायण भइरहेको छ ।

मार्कण्डेय पुराण अनुसार महानवमीका दिन नै देवी चामुण्डाले रक्तबीज राक्षसको वध गरेकी थिइन् । यसै पौराणिक मान्यताका कारण पनि महानवमी तिथिलाई विशेष महत्त्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा कतिपय शक्तिपीठहरूमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा छ । धेरैजसो स्थानमा महाष्टमीका दिन बलि दिइने र महानवमीका दिन ‘मार’ हान्ने चलन रहेको छ ।

पशुबलि नदिने तथा शाकाहारीहरूले भने महानवमीका दिन कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बलि दिई खीर (पायस) चढाउने गर्छन् । यस दिन दुर्गाको प्रतीकका रूपमा ससाना कन्याहरूको पूजा गरी दक्षिणा र भोजन गराउने परम्परा पनि छ। साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक आराधना गरिन्छ ।

महानवमीका अवसरमा देशभरका कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गर्ने गरिन्छ । काठमाडौँको हनुमानढोका दरबारका साथै नेपाली सेनाका विभिन्न ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र परम्परागत कोतपूजा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार